यो वर्ष रासायनिक मल अभाव हुँदैन : कृषिमन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छिन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुता रहेको बताइन् ।
उनले थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पुरा हुने पनि बताइन् । ‘चालु आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट जम्मा ६ लाख मेट्रिक टन मलको लागि टेण्डर आह्वान भएको छ। २०८१ जेठ २८ सम्म ३ लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा ३ लाख ६७ हजार मेट्रिक टन मल बिक्री, वितरण भएको छ । गत वर्ष समेतको गरी ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुता रहेको छ,’ उनले भने ।
आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् । विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने उनले स्पष्ट पारिन् । मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताइन् ।
मन्त्री साहले भनिन्, ‘युरियामा १७ प्रतिशत र डिएपीमा ५५ प्रतिशत र पोटासमा ४७ प्रतिशत औसत अनुदान उपलब्ध गराउँदै आएका छौं । थप १ लाख ३१ हजार मेट्रिक टन आयात हुने क्रममा रहेको र असार मसान्तसम्ममा आयात भइसक्ने अवस्था रहेको छ,’ उनले भनिन्, ‘धान रोपाईँका लागि मौज्दुतामा रहेको मल र आयात हुने मलबाट आवश्यकता पूरा हुनेछ। आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड विनियोजन गरिएको छ ।’
उनले थपिन्, ‘हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मुल्य क्रमशः घट्दो क्रममा रहेकोले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या हुँदैन । आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेन्डर आव्हान भइसकेको र सो मध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको हुँदा मलको अभाव नहुने गरी मन्त्रालयले कार्ययोजना बनाई काम अगाडी बढाइएको छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’
मन्त्री साहले दूग्ध किसानलाई ऋण लिएर भुक्तानी गर्ने बताएकी छन् । संसदमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री साहले एक हप्ताभित्र दूग्ध किसानलाई भुक्तान गर्ने आवश्वास दिइन् । ‘म मन्त्री बनेको हप्ता दिनभित्रै ३० करोड ऋण लिएर दुग्ध किसानलाई भुक्तानी दिएका थियौं । सरकार ऋण होस्, तर किसानलाई ऋण नलागोस् भनेरै हामीले ऋण लिएर भुक्तानी दिएका थियौं,’ उनले भनिन्, ‘अहिले पनि कति किसानको भुक्तानी बाँकी छ भन्ने विषयमा सोधीखोजी भइरहेको छ । उनीहरूले ४ देखि ७ दिनभित्र भुक्तानी प्रक्रिया मिलाउँछौं ।’
उनले थप भुक्तानीका लागि सरकारले आवश्यक ऋणको जोहो गर्नै बताइन्। उनले थप ५० करोडसम्म ऋण लिएर दुग्ध किसानलाई भुक्तानी गर्न सकिने बताइन् । त्यस्तै कृषि उद्यमलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने मन्त्री साहको भनाइ छ । उनले बाँझो खेत जोत्नका लागि युवाहरूलाई आह्वानसमेत गरेकी थिइन्। बाँझो जमिनमा खेती गर्नका लागि उनले भूमि व्यवस्था, उद्योग, वन र श्रम मन्त्रालयसँग आवश्वयक सहकार्य गर्न जरुरी रहेको बताइन् ।