‘चुच्चे नक्सा’ क्षेत्रमा बाटो बनाउन बजेट नहालेको भन्दै रोष्ट्रममै सांसद बडूको मौनधारण


२०८१ असार ४ मंगलबार ०४:२८ बजे

काठमाडौँ । नेपालको चुच्चे नक्सामा समेटिएको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको रोष्ट्रममै मौनधारण गरेका छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेट माथिको छलफलमा भाग लिने क्रममा सांसद बडूले रोष्ट्रममै मौन धारण गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दार्चुलाको रणनीतिक महत्त्वको सडकलाई निरन्तरता दिनका लागि बजेट नछुट्याएको भन्दै मौन धारण गरेका हुन् । नेपाली सेनाले निर्माणको जिम्मा पाएको दार्चुलाको तुसारपानी, कोठेधार, तिंकर सडकको ७९ किलोमिटरका लागि बजेट विनियोजन नगरेको भन्दै सांसद बडूले आपत्ति जनाएका हुन् । ’प्रधानमन्त्री र मन्त्रीलाई सँगै राखेर पनि कुरा गरे तर भयो के ? उहाँ (भौतिकमन्त्री महासेठ) लाई यो देशको भूगोलको पनि जानकारी छ कि छैन, शंका हुन थाल्यो,’ उनले भने ।

दार्चुलाको तिंकर क्षेत्रमा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता उल्लेख गर्दै बडूले भनेका थिए, ‘यो हाम्रै देशको भूगोल र सीमाभित्र यस्तो भूगोल कहाँ छ जहाँ आफ्नै भूगोल, सीमाभित्र एक ठाउँबाट अर्को ठाउँ जानका निमित्त अर्को देशको बाटो जानुपर्छ ?’ २०७७ सालदेखि सडक निर्माण सुरु भएदेखि दार्चुला खलंगादेखि तिंकर जानका लागि भारतीय बाटो प्रयोग गर्नुपरेको उल्लेख गर्दै बडूले तत्काल उक्त सडक निर्माण सम्पन्न गर्नका लागि बजेट विनियोजनको माग गरेका थिए ।

बडूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसँग जोड्ने सडक निर्माणमा सरकारले बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् । कालापानी क्षेत्र जानका लागि सडक निर्माण गर्ने विषय सबैको साझा हुनुपर्ने उनले बताए । ‘त्यो ठाउँको सुविधा, बाटोको लागि, त्यो ठाउँको जनताका लागि मैले मात्रै बोलिरहनुपर्ने हो ? अनि मात्रै ध्यानाकर्षण हुन्छ ? यो सबैको साझा विषय हुन सक्दैन ? म सोध्न चाहन्छु भौतिकमन्त्रीलाई उहाँले यसपटक यो बाटोमा कति बजेट राख्नु भएको छ ?,’ उनले भने, ‘यो रातो पुस्तक हेर्दा पाउँदै, पाउँदैन । नामै छैन, बजेट छोड्नुस् ।’ आगामी आर्थिक वर्षमा बजेट घटाएको हो कि बढाएको हो कि भन्ने पनि भौतिक मन्त्रालयको बजेट पुस्तिकमा उल्लेख नभएको भन्दै बडूले आक्रोश व्यक्त गरे ।

भौतिक पूर्वाधार र रक्षामन्त्री एमालेकै हुँदा बजेट राख्न सहज हुने ठानेको तर अहिले आएर बजेट नपरेको देख्न अचम्म लागेको बडूले बताए । पाँच वर्षभित्र उक्त सडक निर्माण गरिसक्ने निर्णय हुँदा पनि अहिलेका भौतिक पूर्वाधारमन्त्रीले नटेरेको सांसद बडूको भनाइ थियो । उक्त निर्णय दिँदा र कर्मचारीले पनि बारम्बार भनेको कुरा मन्त्री महासेठले नमानेको सांसद बडूको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७