म्यानमारको सैनिक विमान भारतको मिजोरममा दुर्घटना

काठमाडौं । म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ । मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो ।
घटनामा कम्तिमा ८ जना घाइते भएका छन् । विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् । आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको बताइएको छ ।
विद्रोहीको आक्रमणबाट बच्नका लागि गत १७ जनवरीमा म्यानमारका २७६ सैनिक भारतभित्र प्रवेश गरेका थिए । उनीहरू भारत प्रवेश गरी असम राइफल्ससँग शरण मागेको मिजोरम प्रहरीले जानकारी दिएको छ । तीमध्ये १८४ जनालाई सोमबार म्यानमार फर्काइएको थियो । बाँकी ९२ जनालाई आज फिर्ता लैजाने तयारी थियो । एजेन्सी