एमालेको ‘संकल्प यात्रा’ को टोली आज रुकुमकोट पुग्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को छैटौं दिन आज (मंगलबार) रुकुमकोट पुग्दैछ । आज सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दूरी पार गर्नुपर्नेछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परे पनि कार्यक्रमहरु भब्य भएका छन् । जनसहभागिता उल्लेख्य मात्रा जुटेको गौतमले बताएका छन् ।
आजको यात्रा बिहान ८ बजे सुरु हुने गौतमले बताए ।
आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम रहेको छ । यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार, छेडे बजार, सेरी गाउँ, मुसिकोट लगायतका ठाउँमा स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भेटघाट गर्नेछन् । भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल हुने एमालेले जनाएको छ ।