विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गच्छदारसहित, पूर्व भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको थियो । अहिलेसम्म यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ, जसमा चार पूर्व सचिव छन् । पूर्वमन्त्रीहरुविरुद्ध भने पहिलो पटक पक्राउ पूर्जी जारी भएको हो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीहरूलाई मुद्दा चलाएको थियो । अख्तियारले गच्छदार र श्रेष्ठविरूद्ध प्रतिव्यक्ति ९ करोड ६५ लाख तथा जोशीविरूद्ध सात करोड ८ लाख रुपैयाँ बिगो दावी गरेको थियो । सीआईबीले पनि अघिल्लो पटक जिल्ला सरकारी वकिल कार्यालयलाई गच्छदारसहित तत्कालीन मन्त्रीहरूलाई मुद्दा चलाउनुपर्ने राय दिएको थियो । त्यति बेला अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फर्काइएको थियो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा विभागीय मन्त्रीको हिसाबले टिप्पणी सदर गर्नेदेखि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भूमिकामा उनीहरू रहेको सीआईबी स्रोतले जनाएको छ । यसअघि सर्वोच्च अदालतले आइतबार मात्र निर्णय र निर्णय प्रक्रियामा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो । तत्कालीन प्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानमा ल्याउन सर्वोच्चको आदेश छ ।