रैथाने बाली जोगाउन सचेतना फैलाउँदै सहकारी


१४:५६ बजे

कञ्चनपुर । रैथाने बाली जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले सचेतना अभियान सञ्चालन गरेको छ । सहकारीले लोप हुँदै गरेका रैथाने बाली संरक्षणमा जोड दिनका लागि जैविक विविधता मेला, प्रदर्शनी, गोष्ठी, छलफललगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

रैथाने प्रजातिका सोधुवा, सोठियारी, अञ्जना, निमै, सिमटारी, एजवाइन, बामनचिनी, कगरा, लालचन्द, गाजरगोला, रभुनी, थापाचिनी, बासमती, ध्युपुरी, सेतो अनदी, रातो अनदी, मटमुर, बन्दना, कोइपुर्वा, आसाफल, झुम्का, बगरी, मनसुलीलगायतका लोपोन्मुख अवस्थामा पुगेका धानका प्रजाति जोगाउनका लागि नयाँ पुस्तालाई सचेत पार्ने कार्य भइरहेको सहकारीका अध्यक्ष भीमराज अवस्थीले बताए ।

‘धानका पुराना प्रजाति सुक्खा सहनसक्ने, थोरै पानीमा पनि उत्पादन दिने, डुबान सहनसक्ने अवस्थाका रहेका छन्’, उनले भने, ‘पुराना धानका प्रजातिको खेती गर्न छाडेर हाल हाइब्रिड (वर्णशङ्कर) जातका बढी उत्पादन दिने धानखेतीप्रति किसानको रुचि बढदै गएको छ ।’

उन्नत जातका धानका प्रजातिसँगै पुराना जातका धानको खेतीलाई किसानले सँगसँगै लैजानुपर्ने उनको भनाइ छ । जैविक विविधताको संरक्षणमा टेवा पुर्‍याउनका लागि रैथाने जातका अन्नबाली, तरकारी बाली, तेलहन बाली, दलहन बालीबारे नयाँ पिँढीलाई जानकारी दिन कार्यक्रमलाई निरन्तररुपमा अगाडि बढाइएको सहकारीका अध्यक्ष अवस्थीले बताए ।

‘वर्षौंदेखि लगाउँदै आएका रैथाने बालीका विभिन्न जातको क्रस गरेर जिन बैंकले हाइब्रिड बालीको बीउ बनाई हामीलाई नै चर्को मूल्यमा बेचिरहेको छ’, उनले भने, ‘सुक्खा सहनसक्ने, चिसो, गर्मीमा हुर्कने बाली लोप हुँदै गएका छन् ।’ रैथाने बाली लोप हुनुमा किसानकै कमजोरी रहेको उल्लेख गर्दै उनले बढी उत्पादनको लोभमा परम्परागत बाली लोप भइरहेकाले त्यसको जगेर्ना गर्नु नितान्त आवश्यक रहेको बताए । स्थानीय तहले खेती प्रणालीमा सुधार गरी स्थानीयस्तरमै जीन बैंकको स्थापना गरी उन्नत जातका धानलगायतका बालीको बीउ सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘रासायनिक मलको सट्टा ढैँचा, मुँग लगाउने गर्नु पर्दछ, पहिला मलका लागि ढैँचा र मुँग लगाइने गरेको थियो, हाल त्यसलाई बिर्सेर रासायनिक मल हाल्दा माटोको गुणस्तरमा निकै ह्रास आउँदा रैथाने बाली फस्टाउन गाह्रो परेको छ’, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यालयका प्रमुख सञ्जु उपाध्यायले भनिन् । उनले नयाँ प्रविधि प्रयोग गरेर उत्पादन बढाउँदा रैथाने प्रजाति हराउने चिन्ता रहेको बताइन् ।

उनले नयाँ प्रविधिको प्रयोग गरी उन्नत जातका बाली पनि लगाउने सँगसँगै रैथाने बालीलाई लगाउने गरे खाद्यान्नको समस्या हटेर जाने बताइन् । कृषिमा प्रयुक्त हुने युवा जनशक्ति विदेशिदा जग्गा बाँझो रहने भएकाले स्थानीय तहले युवालाई स्वदेशमै काम गर्नका लागि आकर्षक योजना ल्याउनुपर्ने उनले उल्लेख गरिन् ।

कृषि ज्ञान केन्द्रका अधिकृत हरिदत्त जोशीले कम वर्षा हुने प्रक्षेपण भइसकेकाले किसानले सुक्खा र डुबान सहन सक्ने जातका धान रोप्नुपर्ने बताए । उनका अनुसार हालसम्म जिल्लामा थोरै वर्षा हुँदा २२ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यसै समयमा यहाँ ७० प्रतिशत रोपाइँ भएको थियो । सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले युवा जनशक्तिलाई टिकाइराख्न कम लागतमा बढी उत्पादन दिने बाली लगाउनका लागि उत्प्रेरित गर्न विगतको तुलनामा पाँच गुणाले बजेटमा वृद्धि गरी कार्यक्रम अघि सारिएको बताए ।

नगर प्रमुख रणबहादुर महराले नगरवासीको प्रमुख आयको स्रोतका रुपमा कृषि रहेको चर्चा गर्दै उनले पर्याप्त स्रोतसाधन नभए पनि १२ वटै वडामा कृषिको सम्भावना पहिल्याएर वैज्ञानिक तरिकाले कार्यक्रम सञ्चालन गरिने बताए । कृषि विवरण तयार भएपछि त्यसकै आधारमा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । उनका अनुसार किसानले उत्पादन गरेको कृषि उपजलाई लामो समयसम्म भण्डारण गर्न चिस्यान केन्द्र निर्माण गर्ने तयारी भइरहेको बताए । जग्गा प्राप्तिका क्रममा रहेकाले जग्गा प्राप्ती भएसँगै चिस्यान केन्द्र निर्माण हुने बताए । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७