एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा बैठक


२०७९ चैत १४ मंगलबार १३:३४ बजे

काठमाडौं । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ को समीक्षा बैठक राखेको छ ।

पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सात वटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको छ । सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ र ७ गते, बागमती प्रदेशमा वैशाख १० र ११ गते, गण्डकी प्रदेशमा वैशाख १२ र १३ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ ।

मधेस प्रदेशमा वैशाख १४ र १५ गते, कोशी प्रदेशमा वैशाख १६ र १७ गते, गैरभौगोलिक क्षेत्रमा वैशाख १८ र १९ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ । प्रदेश तहमा गरिएको समीक्षाको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिने छ । सोही प्रतिवेदनको आधारमा पार्टीले आगामी कार्ययोजना बनाउने बताइएको छ ।

समीक्षा बैठकमा प्रदेशमा खटिएका पार्टीका केन्द्रीय उपाध्यक्षको सहभागितामा हुनेछ । बैठकमा प्रदेशभरि खटिएका सबै केन्द्रीय सदस्य रहने छन् । एमालेले चैत २० गतेभित्र मिसन ग्रासरुट अभियान सम्पन्न गर्न निर्देशन दिएको छ । पालिकास्तरमा चैत २० देखि २५ गतेसम्म पालिका तह समीक्षा र जिल्लास्तरमा चैत २५ देखि ३० गतेसम्म समीक्षा बैठक राख्न भनिएको छ ।

महासचिव पोखरेलद्वारा जारी सर्कुलरमा मिसन ग्रासरुट अभियान योजनाअनुसार नै अघि बढिरहेको भए पनि कतिपय स्थानमा उद्देश्यभन्दा भिन्न परम्परागत राजनीतिक गतिविधि जस्ता बन्न पुगेका जनाइएको छ ।

‘कतिपय ठाउँमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्र गतिविधि हुने गरेको देखिएको छ भने केन्द्रीय प्रतिनिधि उपस्थित हुन नसकेको केही ठाउँमा अभियानको नेतृत्व कसले गर्ने भन्ने हो अवस्था रहेको छ’, सकुर्लरमा भनिएको छ ।

हिमाली क्षेत्रमा कतिपय पालिकामा हिमपातका कारणले अभियान सुरु हुन नसकेको बताइएको । एमालेले गत फागुन ५ गतेदेखि पार्टी सदस्यता वितरण गर्ने, आधारभूत तहका कमिटीको गठन-पुनःगठन र अधिवेशन गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो ।

मिसन ग्रासरुट अभियानमा एमालेले पार्टीका उपाध्यक्षलाई सात प्रदेशको संयोजन र केन्द्रीय सदस्यलाई सात सय ५३ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि खटाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७