नुवाकोट र रसुवामा १० करोड ६१ लाखको कृषिका कार्यक्रम


२०७९ भदौ २८ मंगलबार १२:५८ बजे

काठमाडौं । कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले जानकारी दिए । उनका अनुसार किसान र स्थानीय तहमार्फत माग भएर आएका, पुराना कार्यक्रमका निरन्तरता र प्रदेश सरकारको लक्ष्यअनुरुपका विभिन्न २७ शीर्षकका कार्यक्रम चालु आवमा सञ्चालन गर्न लागिएको हो ।

‘साना सिँचाइ, खाद्यान्न/तरकारी/आलु/कफी/रैथाने बालीको प्रवद्र्धन, साना यन्त्र-उपकरण वितरणलगायतका कार्यक्रमलाई प्राथमकितामा राखेका छौँ’, केन्द्र प्रमुख खनालले भने, ‘उद्यमशीलता प्रवद्र्धन, कृषि विकासका लागि बीउ पूँजी कोष परिचालन, क्षमता विकासका तालिम तथा समन्वयात्मक भूमिकाका लागि बजेट विनियोजन गरिएको छ ।’

साविकको कृषि विकास कार्यालय रहँदा अधिकार सम्पन्न भए पनि हाल समन्वयका रूपमा रहेको ज्ञान केन्द्रले क्रमशः किसान लक्षित कार्यक्रम सञ्चालन गर्दै सेवाको दायरा बढाउन थालेको छ । गत आवमा रु १० करोड ३७ हजार लागतमा ३६ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको केन्द्रले चालु आवमा योजनाको संख्या घटाएर बजेटको आकार बढाएको जनाएको छ ।

जिल्लामा उत्पादन हुँदै आएका बाली धान, मकै, गहुँ, कोदो, आलु, विभिन्न जातका तरकारी, किवी, स्ट्रबेरी, चिया र कफीको प्रवद्र्धनका लागि बजेटले प्राथमिकता पाएको छ । यस्तै रसुवामा आलु, कालोमुसुरो, स्याउ र विभिन्न जातका तरकारीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहयोग पुग्ने गरी योजना तथा कार्यक्रम समावेश गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७