सगुन खाएर ६ महिनासम्म बस्दिनँ, मेयर भएको भोलिपल्टबाटै काम शुरु गर्छु : केशव स्थापित
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडा सुनेर सम्बोधन हुने गरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले मेयरले ६ महिनासम्म सगुन खाएर हिंडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा सो काम सकाएर महानगरवासीको सेवामा लाग्ने बताए । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सगुन खादा झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गरे । उनले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको भोलिपल्टबाटै काम सुरु गर्ने बताए ।
‘विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौंमा संरक्षण गर्न अगुवाई गर्नेछु । मैले एक दिन केही मान्छेहरुलाई देख्या छु-६ महिनासम्म काम भनेको सगुन खाने भन्छ । साँझ परेपछि चुस्स लाछ । फोन अफ गर्या छ । जहिले पनि सगुन खाछ, अण्डा खाछ । माछा खाछ । ठूल्ठूला कुरा गर्या छ, त्यो हुँदैन,’ मेयरका उम्मेदवार स्थापितले भने, ‘जितको भोलिपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो ।’
काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाइ छ । कार्यक्रममा बोल्दै एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई बिदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाइन् । डंगोलले महिलाहरुलाई पुरुषसरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गरिन् ।