प्रहरी जवान पुगे मध्यरातमा किशोरीको कोठामा, बलात्कारपछि रुखमा झुण्ड्याएर हत्या प्रयास


१४:२३ बजे

डोटी, १८ कार्तिक । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् । तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ ।

डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह किशोरी बलात्कारमा मुछिएका छन् । उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध कानूनबमोजिम मुद्दा चल्ने भएको छ ।

प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रहरी जवान सिंह यही कातिक १३ गते मध्यराति किशोरी सुतेकै कोठामा पुगेका थिए भने उनले ती किशोरीलाई बलात्कारपछि घिसार्दै लगेर रुखमा झुण्ड्याएर हत्याको प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् ।

हत्या प्रयासबारे त्यस रात पीडितका बुबाले थाहा नपाएका भए ती किशोरीको अकालमा ज्यान जान सक्ने खतरा थियो । पीडित किशोरीका बुबाले भने, ‘सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल) ले रुखमा झुण्डाएको अवस्थामा भेटें । हतारहतार गएर दोपट्टा काटेर बचायौं ।’

पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् किशोरीको होश आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ ।

किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, ‘किशोरीको घाँटीमा फाँसी लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मुद्धा चल्छ ।’

निज प्रहरी जवानले किशोरीलाई कुटपिट गरेका कारण उनको खुट्टामा पनि निलडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको पीडित पक्षको भनाइ छ । चालु आर्थिक वर्षको यही कात्तिक १७ गतेसम्म जिल्लामा कूल छ वटा र गत आर्थिक वर्षमा सात वटा बलात्कारका घटनामा अनुसन्धान भई मुद्दा चलाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७