तिलगङ्गा–गुह्येश्वरी सडक बन्द गर्न बोलपत्र आह्वान
काठमाडौं, ३१ बैशाख । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु भएको छ ।
विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक–पटक बन्द गर्न आग्रह गर्दै आएको थियो । सो सडक बन्द नगरे पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी युनेस्कोले दिएको थियो ।
सर्वोच्च अदालतले पनि सो सडक बन्द गर्न आदेश दिएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई पटक पटक पत्राचार गर्दै आएकाले सडक बन्द गर्न बोलपत्र आह्वान भइसकेको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।
फोहर बोकेका गाडीले यो सडक हुँदै राति पशुपति क्षेत्र प्रवेश गरेर ‘डम्पिङ साइट’ मा लैजान खोजेकाले धार्मिक क्षेत्रको अस्तित्व खतरामा परेको थियो ।