भेटवाल काण्डले महानगरभित्र भाँडभैलो
पत्रपत्रिकाबाट
काठमाडौं, २६ बैशाख । काठमाडौं महानगरपालिकाका कर्मचारीहरूसँग सेटिङ मिलाएर खुलामञ्च कब्जा गर्ने विवादित ठेकेदार मनोज भेटवालले दुई जना उच्च कर्मचारीहरूलाई विदेश घुम्न पठाएको खुलासा भएको छ । महानगरपालिकाको उच्च पदमा बसेका ती दुई कर्मचारीले ठेकेदार भेटवालसँग मोटो लाभ लिने गरेको स्रोतले जनाएको छ ।
नयाँ बर्षको उपलक्ष्यमा ठेकेदार भेटवालले आफ्नै खर्चमा काठमाडौं महानगरपालिकाका प्रशासनिक प्रमुख ज्ञानेन्द्र कार्की र शहरी सुव्यवस्था प्रमुख हरि कुँवरलाई लण्डन घुम्न पठाएका थिए । भेटवाललाई रत्नपार्कको बसपार्क टेण्डरमा लगाउन र खुल्ला मञ्च कब्जा गर्न कार्की र कुँवरले ठूलो भूमिका खेलेका थिए ।
भेटवालले महानगरका ठूला कर्मचारीहरू महिनावरी पैसा बुझाउँदै आएको स्रोतको भनाइ छ । राजनीतिक पहुँच राम्रो बनाएका भेटवाललाई सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्वास गर्छन् । भेटवाल रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाका मामाससुरा पनि पर्छन् ।
भेटवाललाई बचाउन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पत्रकार धमलासहितका व्यक्तिहरू सक्रिय भएर लागेका छन् । मिडियामा काठमाडौं महानगरपालिकाभित्रको काण्ड सार्वजनिक भएपछि भेटवालसँग भेटी खानेहरूलाई तनाब भएको छ, आजको युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । उता, खुल्लामञ्चको काण्ड नसेलाउँदै रत्नपार्कको जग्गा कानून विपरीत व्यक्तिलाई प्रयोग गर्न दिएको तथ्य फेला परेको छ ।
खुलामञ्च र रत्नपार्कबीचको दुइमाजु मन्दिरको जग्गा गुठी संस्थानले व्यावसायिक प्रयोजनका लागि अनधिकृत रुपमा भाडामा लगाएको हो । गुठी संस्थानले भीमसेन गाउँपालिका वडा नम्बर २, गोरखा (हाल तीनकुने काठमाडौं)की अमृता भट्टराईलाई २०७५ मंसिर ९ गते भाडामा दिएको हो । एक रोपनीभन्दा बढी क्षेत्रफलको यो जग्गा पाँच वर्षका लागि दिइएको छ । पाँच वर्षपछि समय थप्न सकिने गरी सम्झौता गरिएको उल्लेख छ । ‘दुवै पक्षको सहमतिमा सम्झौता अवधी थप गर्न सकिनेछ’, सम्झौतापत्रमा लेखिएको छ ।
गुठी संस्थानले माथिको आदेश भन्दै व्यावसाय सञ्चालनका लागि जग्गा दिएको सम्झौताले देखाएको छ । सम्झौतापत्रमा ‘सामान्य व्यावसाय सञ्चालन’ गर्न पाउने उल्लेख छ । सार्वजनिक खरिद ऐन अनुसार टेन्डर नगरी खरिदबिक्री वा जग्गा भाडामा लगाउनु आर्थिक अपराध मानिन्छ ।
संस्थानका प्रवक्ता सरोज थपलियाले मन्दिर रेखदेख गरिरहेकी भट्टराईलाई तलब वृद्धिको सट्टा जग्गा भाडामा दिएको बताएका छन् । गुठी संस्थान स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको दवावमा भट्टराईलाई जग्गा उपलब्ध गराएको स्रोतले जनाएको छ । अमृता जनसेवा सामुदायिक प्रहरीमा कार्यरत पदम भट्टराईकी श्रीमती हुन् ।