नयाँ नोट आउँदै
काठमाडौं, २९ फागुन । दशैँ नजिकिँदा हाहाकार हुने नेपाली नोट यसपालि बेलैमा पाइने गरी काम शुरु भएको छ । त्यसका लागि दिइसकेको ठेक्का पनि रद्द गरेर अर्को कम्पनी छनौट गरिएको छ ।
पहिला चीन र बेलायतका कम्पनीहरू ठेक्का हात पार्न भिडेका थिए । चीनसँग पैसामा कुरा मिल्यो, उसले ठेक्का पनि पायो । राष्ट्रबैंकले २४० दिनमा नोट चाहिन्छ भनेको थियो । तर चिनियाँ कम्पनीले २८७ दिनभन्दा अगाडि दिन नसक्ने बतायो ।
त्यसअनुसार दशैँमा नोटको अभाव कायमै रहने भयो । यही कुरालाई मध्यनजर गर्दै चिनियाँ कम्पनीले पाएको ठेक्का रद्द गर्दा बेलायती र फ्रान्सेली कम्पनीको खुदो पल्टिएको हो । पहिला चीनले प्रतिनोट ३ रूपैयाँ ३१ पैसाका दरले छाप्ने भएको थियो । पछि पुनः टेण्डरका क्रममा प्रतिस्पर्धी बेलायतले २ रूपैयाँ ९९ पैसा कबुलेको छ । पहिला त्यही नोट फ्रान्सले ३ रूपैयाँ ४९ पैसामा छाप्छु भनेको थियो । चीन झरेर ३ रूपैयाँ २६ पैसासम्म पुग्यो । तर, बेलायतले छाप्छु भनेर चीनको हातबाट ठेक्का फुत्काउन सफल भएको छ ।
बेलायतले सबै काम आफैँकहाँ गर्छ । उसले पानीछापे कागज पनि आफैँ बनाउँछ भन्ने नाममा राष्ट्र बैंक बोर्डले निर्णय उल्टाएको बताइन्छ । अहिले नेपालले छपाई गर्न अर्डर गरेको नोट ४० करोड पिस छन् । त्यसअनुसार विभिन्न दरका एक सय २० करोड पैसा छाप्ने टेण्डरको कुरा हो यो । ५० रूपैयाँ दरको नोट छाप्ने काम फ्रान्सको ओबर्थर कम्पनीले गत हप्ता पाइसकेको छ, जसले नेपालको एमआरपी पासपोर्ट छापेको थियो ।
नेपालले २००२ सालदेखि कागजी नोट छाप्न थालेको हो । त्यतिबेला नोटमा रूपैयाँको सट्टा मोहर रु. अंकित गरिएको हुन्थ्यो ।