सुनसरीबाट वाम उम्मेदवारहरुको एक स्वर, ‘मुलुकबाट काँग्रेस बिदा गर्छौँ’


१०:२६ बजे

धरान : मङ्सिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरी क्षेत्र नं १ मा संयुक्त बाम गठबन्धनले अन्तिम चुनावी सभा गर्दै सोमबार धरानमा आफ्नो शक्ति प्रर्दशन गरेको छ । विशाल जनप्रर्दशनसहित आयोजित आमसभाका वक्ताहरुले वाम गठबन्धनप्रति देशैभर जनलहर आएको बताउँदै देशबाटै शेरबहादुर देउवा नेतृत्वको पार्टी नेपाली काँग्रेस बिदा हुने दाबी गरे ।

आम सभाका प्रमुख अतिथि रहेका एमाले पार्टी सचिव एवं सुनसरी क्षेत्र १ प्रदेशसभा ख का उम्मेदवार भीम आचार्यले देउवा नेतृत्वको काँग्रेसले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न नसक्ने भएकोले जनताले बाम गठबन्धनलाई अत्यधिक बहुमत दिलाएर विजयी गराउने बताए । विगतमा काँग्रेसलाई जनताले बहुमत दिँदा देउवा प्रधानमन्त्री हुँदा नै २०५९ सालमा प्रजातन्त्र राजा ज्ञानेन्द्रलाई बुझाएको स्मरण गराउदै नेता आचार्यले अहिले बामपन्थीहरु मिल्दा लोकतन्त्र खतरामा पर्‍यो भन्दै देउवा कराउनुको कुनै औचित्य नभएको बताए । ‘देउवाले नै बहुदलीय प्रजातन्त्र ज्ञानेन्द्रको पाउमा चढाएको होइन ? अब पनि गणतन्त्र, धर्मनिरपेक्ष, समावेशिता र मौलिक अधिकारहरूलाई कुनै पनि क्षण उनले कुनै शक्तिको सामु झुकाउन सक्छन्, कुनै विदेशी सामु वा कुनै तन्त्र बिउताएर नेपाली जनताको शिर माथि डण्डा बर्साउनसक्छ,’ आचार्यले भने, ‘त्यसैले पहिलो चरणको निर्वाचनमा ९० प्रतिशत सिटमा बाम गठबन्धनको अग्रता छ, मत गन्न मात्र बाँकी छ । २१ गतेको चुनावबाट पनि हामी दुई तिहाईले जित्छौं, र काँग्रेसलाई बिदा गछाैं ।’ सबैको भावना, पहिचानलाई समेटेर समावेशी, नेपालमा उन्नत र लोकतान्त्रिक संविधान ल्याएको जिकिर गर्दै उनले नेपालीको एजेन्डा भए थप संशोधन गर्न एमाले तयार भए पनि कुनै विदेशीको भारी बोकेर आएको दलको दबाब र धम्कीको भरमा संशोधन नगर्ने पनि प्रस्ट पारे । संशोधनको नाममा हिमाल, पहाड र तराईलाई अलग गरेर जनताको सुमधुर सम्बन्धमा खलल पुर्‍याउन खोजेको भन्दै उनले आलोचना पनि गरे । ‘अबको मुख्य कार्यभार भनेको विकास र समृद्धिको अभियान हो, राजनीतिक स्थिरता हो । यसको लागि ठिक नेतृत्व चयन र बहुमतको सरकार आवश्यक छ,’ उनले भने, ‘यो सब देउवा नेतृत्वको काँग्रेसबाट सम्भव छैन, बाम गठबन्धनबाट मात्र सम्भव छ ।’ सोही सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बोले पनि यो निर्वाचनबाट काँग्रेस १५ सिटमा खुम्चने दाबी गर्दै सदाको लागि काँग्रेस बिदा हुने बताए । देश र जनताको लागि काँग्रेस आवश्यक नभएको जिकिर गदै उनले भने, ‘नेपाली जनताले शक्तिशाली कम्युनिस्ट पार्टी खोजेका छन् । राजतन्त्रलाई बिदा गरेर नागार्जुनमा पुरयायांै, अब काँग्रेसलाई पनि त्यसरी नै जनतको मत लिएर बिदा गछौं ।’ ज्नताले बाम गठबन्धनलाई दुई तिहाई बहुमत दिएपछि प्रदेश र केन्द्रमा सरकार बनेर ५ वर्षभित्र भ्रष्टचार अन्त्य गर्ने, आर्थिक सामाजिक विकासबाट देश र जनता समृद्ध बनाएपछि अर्को चुनावमा काँग्रेसले कहीँ कतै पनि उम्मेदवार नपाउने बताए । सुनसरी १ मा प्रतिनिधिसभामा काँग्रेसले उम्मेदवार नउठाएको प्रसङ्ग झिक्दै उनले भने, ‘यो पटक प्रतिनिधिसभामा मात्र उम्मेदवार पाएन, अर्को पटक प्रदेशसभामा पनि पाउदैन, कहीँ कतै पाउनेछैन र काग्रेस स्वतः बिदा भएर जान्छ ।’ समाजवादी लोकतन्त्र स्थापना गरेर बाम गठबन्धनले जनताको चाहनाअनुसार देशलाई समृद्ध बनाउने उनले बताए । एमालेका केन्द्रीय सचिव योगेश भटराईले पनि २ ठुला कम्युनिस्ट पार्टी मिल्दा प्रतिक्रियावादीहरुको सपना चकनाचुर भएको उल्लेख गर्दै कुनै पनि विदेशी शक्तिको सामु नझुक्ने बामपन्थीहरुको स्थिर सरकार बनाउने बताए । बर्सेनि प्रधानमन्त्री फेरिएर भारत भ्रमणमा जाने प्रवृत्तिको अन्त्य गर्ने उद्घोष गर्दे नेता भटराईले भने, ‘मोदी जी, अब ५ वर्षमा १ पटक मात्र नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्न पाउनेछौं, तिम्रा फुलमाला धेरै बिक्नेछैन, ५ वर्षसम्म स्थिर सरकार बन्नेछ ।’ नेपाल सधैँ दक्षिणतिर ढल्किएको भन्दै उनले अब उत्तर दक्षिण कतै पनि नढल्कीने र नझुक्ने स्वधिन, स्वतन्त्र राष्ट्र बामपन्थीहरुले बनाउने पनि नेता भटराईले बताए । आफू उम्मेदवारहरुलाई जितको लागि ताप्लेजुङबाट पाथीभारा माताको आर्शिवाद लिएर आएको भन्दै भीम आचार्यलाई मुख्यमन्त्रीकोरुपमा उनले प्रस्तुत गरेका थिए ।  सुनसरी १ का प्रतिनिधि सभा उम्मेदवार जयकुमार राईले नेपाली जनतालाई गरिबी, पछौटेपनबाट मुक्ति दिलाउन नै बाम गठबन्धन भएको बताए । नेपाली जनताको संविधान जलाउनेहरु, भारतले नाकाबन्दी लगाएर जनतालाई पीडा दिइरहेको बेला नाकाबन्दी छैन भन्नेहरु भोट माग्न आएको भन्दै जनता पेट्रोल, डिजेल, ग्यास नपाएर छटपटिरहदा खुसी हुने काँग्रेस र फोरमका उम्मेदवारलाई भोट नदिन मतदातासँग आग्रह गरे । धरानसँगै सुनसरी १ को विकासको योजनाहरू बामपन्थीहरुसँग मात्र भएको र विगतमा पनि धेरै विकासका कामहरू गरेकोले पुनः बाम गठबन्धनले जनताको विश्वास पाउने उनको भनाई थियो । प्रदेशसभा क का उम्मेदवार प्रदिप भण्डारीले पनि सङ्गठन निर्माणको क्रममा जनताले कम्युनिस्ट पार्टीहरू धेरै भएको गुनासो गरेको खुलाउदै जनताको चाहनाअनुसार नै देशको विकास, समृद्धिको लागि एउटा कम्युनिस्ट पार्टी भएर आएको बताए । लोकतान्त्रिक गठबन्धनसँग विकासको कुनै एजेन्डा नभएको दाबी गर्दै उनले सुनसरी १ लाई शैक्षिक, पर्यटकीय, खेलकुद, स्वास्थ्य, प्रदेशको राजधानी बनाउने बताए । ‘हामी धराने जनताको शिर झुक्ने कुनै काम गर्ने छैनौँ, तपाईँहरूको मान राख्दै शिर माथि राखेर काम गर्नेछौँ,’उनले भने । धरान उपमहानगरका प्रमुख तारा सुब्बाले धरानलाई सुकुम्बासीविहिन नगर बनाउने लक्ष्यका साथ स्थानीय सरकारले घर नम्बर वितरण थालेपनि केही व्यक्तिहरूले झुक्याएको भन्दै भ्रमको खेती गरेकोमा रोष प्रकट गरे । उनले भने,‘स्थानीय सरकारको निर्णय आधिकारिक हो कि झुटको खेती गर्ने व्यक्ति ? सुकुम्बासीहरुलाई अधिकारसम्पन्न बनाउन र अन्य नगरबासी सरह बनाउन हामी अघि बढेका छौँ । म स्थानीय सरकार प्रमुखको हैसियतले त्यस्ता गलत कुरामा विश्वास नगर्न आग्रह गर्छु ।’ जनता आवासको नाममा सुकुम्बासी, दलित र निम्न वर्गका जनतालाई काँग्रेसले झुटो आश्वासन बाडेर फारम भरिरहेको भन्दै उनले स्थानीय सरकारको स्वीकृति विना त्यस्ता कार्यक्रम लागु नहुने भएकोले जनतालाई भ्रममा नपर्न आग्रह गरे । सभामा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार चेतना श्रेङ, उमिता बराईली(रिमा), एमालेबाट समानुपातिक उम्मेदवार सावित्री श्रेष्ठ, श्यामनारायण राजधामीले पनि मन्तव्य राख्दै समानुपातिकतर्पm आस्था अनुसार सूर्य र गोलाकारभित्र हसिया हथौडामा मत दिन आग्रह गरेका थिए । माओवादी केन्द्रका सल्लाहकार हिमालधन राई, निर्वाचन परिचालन मूल कमिटीका माओवादीतर्पmका संयोजक अइन्द्रबिक्रम बेघा, एमालेतर्फका संयोजक प्रकाश राईले पनि मन्तव्य राखेको सभामा नेपाली काँग्रेस, राप्रपा, समाजवादी पार्टी फोरमलगायत विभिन्न पार्टी परित्याग गरेकाहरुलाई एमालेमा स्वागत गरिएको थियो ।कार्यक्रममा जनसाँस्कृतिक मञ्चका कलाकारहरूले बाम गठबन्धनको गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए भने चर्चित गायिका सत्यकलाई राई, जनगायक किशोर थुलुङले पनि गाएका थिए । सभा सुरु हुनुअघि पब्लिक उच्चमाविको मैदानबाट विशाल र्याली सुरु भएको थियो । हजारौँको सङ्ख्यामा सुरु भएको र्यालीको समयमा चतरालाइन, छाताचोकदेखि भानुचोकसम्मको सडकमा मानव सागरले कब्जा जमाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७