नेपालको दोस्रो सानदार जित, भुटान ९ विकेटले पराजित

प्रकाशित मिति :2017-09-13 11:59:32

काठमाडौं : मलेसियामा जारी एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले भुटानमाथि सानदार जित हात पारेको छ । भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा १ विकेट गुमाएर भेटाएको नेपालले ९ विकेटले विजयी भएको हो ।

नेपालले जवाफी ब्याटिङ थालेको ३० मिनेटमै जित हात पारेको हो । लगातार दोस्रो जित दर्ता गरेको हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालको जितमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआउट ४ रन जोडे। आसिफले २१ बल खेलेर ३ चौका तथा अनिलले ५ बल खेलेर १ चौका प्रहार गरे । ओपनर सन्दीप सुनार २१ रन जोडेर आउट भए ।

यसअघि मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भएको थियो। भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ४ र नन्दन यादव १ विकेट लिएका थिए।

भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके । दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए ।

समूह ‘ए’मा रहेको नेपालले बिहीबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालसँग प्रतिस्पर्धा गर्नुअघि सिंगापुरले भुटान र थाइल्यान्डलाई पराजित गरिसकेको छ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula