सप्तरी प्रधानमन्त्रीले भने, ‘अब मधेस डुब्दैन, भारतसँग सम्झौता भइसक्यो’

प्रकाशित मिति :2017-09-13 08:13:46

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब बाढीबाट मधेस डुबानमा नपर्ने बताएका छन् । डुबान समस्या रोक्न भारतसँग सम्झौता भइसकेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कांग्रेसले स्थानीय तह निर्वाचन प्रचारका लागि राजविराजमा गरेको सभालाई सम्बोधन गर्दै देउवाले आफ्नो भारत भ्रमणका क्रममा बाढी र डुबान नियन्त्रणका लागि कुरा गरेको बताएका हुन् ।

‘मधेसका जिल्लाहरू भविष्यमा डुबान हुन नदिन मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नीतीशकुमारसँग समेत छलफल गरेको छु, मधेसमा आउने बाढी नियन्त्रण कसरी गर्ने विषयमा अध्ययन गर्न दुईतर्फी अधिकारीहरू सम्मिलित समिति गठन भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘बाढी नियन्त्रण गर्न कोसी हाइड्याम निर्माण हुनेछ ।’

मधेसी जनताको मागबमोजिम संविधान संशोधन हुन नसकेकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यसको जिम्मा एमालेले लिनुपर्ने बताए । उनले भने, ‘एमालेका कारण संविधान संशोधन हुन सकेन, तर कांग्रेस सिंगो मुलुकको पार्टी भएकाले मधेसी, जनजाति, आदिवासी, सीमान्तकृत, दलित तथा पिछडिएका वर्गको अधिकार सुनिश्चित गर्न चुनावपछि पुनः संशोधन प्रक्रिया अगाडि बढाउनेछ ।’

राजविराज नगरपालिकासहित प्रदेश नम्बर २ मा कांग्रेसलाई बहुमतले जिताउनुपर्ने उनले बताए । देउवाले भने, ‘राजविराज नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवारलाई जिताउनुहुन्छ भने कबर्ड हल, रंगशाला, हुलाकी सडक निर्माणजस्ता कामहरू पूरा गर्न सजिलो हुने विश्वास दिलाउन चाहन्छु ।’

सोही सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितले एमालेकै कारण संविधान संशोधन हुन नसकेको दाबी गरे ।

सोही सभामा राजविराज नगरपालिका मेयरका उम्मेदवार ध्रुव देव र उपमेयर उम्मेदवार सुशीला यादवले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे । त्यस्तै, सांसदहरू सकलदेव सुतिहार, तेजुलाल चौधरी, सुरेन्द्र यादव, रञ्जित कर्णसहितले सम्बोधन गरेका थिए ।

सभापछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको टोली तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula