निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद् विस्तार : आयोग

प्रकाशित मिति :2017-09-11 21:41:57

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विस्तार गरेको मन्त्रीमण्डल निर्वाचन आचारसंहिता विपरित भएको बताएको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् प्रतिनिधिसभा तथा प्रदेश सभाको आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनका लागि जारि गरिएको निर्वाचन आचारसंहिता विपरित भएको जनाएको हो ।

फाइल तस्बिर ।

आयोगले मन्त्री विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै त्यस किसिमको कार्य नगर्न÷नगराउन सरकारसँग आग्रह गरेको छ । आयोगको सात बुँदे आचरसंहितामाको नम्बर १ मा ‘नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै राजनीतिक नियुक्ति नगर्ने उल्लेख छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न÷गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको उल्लेख गरेको छ । निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद् विस्तार भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनशाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने सक्ने हुँदा यस किसिमको कार्य नगर्न÷नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

प्रतिनिधिसभा तथा प्रदेश सभाको आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनको सिलसिलामा यही भदौ १४ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula