दुर्लभ होलटाइमर

प्रकाशित मिति :2017-09-03 15:56:29

केही दिनअघि चन्द्र लावतीले (नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका वर्तमान महासचिव भिमज्वाला राईकी श्रीमती) फेसबुकमा लेखिन्, ‘भीम राई मेरो श्रीमान् हो, तर मेरो श्रीमान् भन्दा बढी यातायात मजदुरहरूको असल नेता हो । मैले मेरो वैवाहिक जीवनका २१ वर्ष आफूले दुःख सहेर उहाँलाई यातायात मजदुरको काम गर्न छाडिदिएकी छु । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको दसौँ राष्ट्रिय महाधिवेशन भदौ १७ देखि १९ गतेसम्म हुँदैछ, सम्पूर्ण प्रतिनिधिहरूसँग अरू केही माग्दिन, उहाँलाई अध्यक्षमा तपाईँहरूको मत माग्छु ।’

चन्द्र भाउजूको फेसबुक स्टाटस पढेपछि मेरो दिमागमा विगतका सम्झनाहरू फनफनी घुमिरहे । मैले भिमज्वालालाई चिनेको २०६० सालतिर हो । हामी धनकुटामा पढ्थ्यौं । भिमज्वाला धरानका चर्चित मजदुर नेता थिए । उनी पत्रिकाका सम्पादक पनि थिए । पहिलो भेट विद्यार्थीको एउटा कार्यक्रममा भयो । एउटा होचो कदको मान्छे मञ्चमा उभिए । उनले भाषण यस्तो गरे, हामीले निरन्तर ताली पिटिरह्यौँ । उनको भाषणले हामीलाई मन्त्रमुन्ध बनायो । त्यही समयदेखि म उनलाई चिन्छु । धनकुटाबाट धरान झर्नसाथ हामी भिमज्वालालाई भेट्न पुग्थ्यौं । मजदुरका नेता । मजदुरहरुकै निम्ति औजार दैनिक निकाले । उनको डेरामा हामी गइरहन्थ्यौं । भित्तामा कार्ल माक्र्स, लेनिन र स्टालिनका तस्बिर टाँगिएका थिए । कम्युनिस्ट आन्दोलनका पुस्तक भुइँभरी छरपष्ट हुन्थे । हामीले पुस्तकमा पढेको कम्युनिस्ट नेताका जस्तै ।

असल संरक्षक
मुलतः शिक्षा र यातायातका कारण धरान पूर्वको केन्द्र हो । शैक्षिक संस्था र यातायातका कारण धरानले तराई र पहाडलाई जोड्छ । उतिबेला धरानमा अनेक घटना र समस्या भइरहन्थे । तर, युवा एमालेहरुले ती समस्या र सङ्कटको बेला सम्झिने नाम थियो भिमज्वाला राई । कसैको समस्या सुन्नासाथ उनी मैदानमा उत्रिहाल्थे ।

भिमज्वाला भन्नासाथ एमालेविरोधीहरु आतंकित हुन्थे । कतै कुनै समूह होस् या प्रहरी प्रशासन । साथीभाइको संरक्षणका लागि आफैँ मैदानमा उत्रिने । अझ मजदुरसँग जोडिएका मुद्दा र समस्या भेटिएमा उनी यतिधेरै भिड्थे अरू मान्छे पनि चकित हुन्थे । धरानमा भन्थे, ‘जुझारु र जोदाहा नेता होस् त भिमज्वाला जस्तो ।’ कसैलाई केही अन्याय भयो की भिमज्वालाई सम्झिनुपर्ने अवस्था थियो । एउटा आगोमय ऊर्जा, विरोधीहरु उनको नामबाटै डराउँथे । अझैं पनि डराउँछन् ।

खलासीदेखि सम्पादकसम्म
उनी परिवारका जेठा छोरा हुन्, एउटा गरिब किसानका छोरा । सिराहादेखि रित्तो हात धरान आउँदै गर्दा उनीसँग सपनाको पोको बाहेक अरू केही थिएन । धरानमा उनी अनेक समस्यासँग जुधे । कामका लागि अनेक ठाउँमा भौतारिए । अन्तिममा उनले थाले गाडीमा खलासीको काम । उनको यात्रा त्यहीँबाट सुरु भयो । खलासीको काम कस्तो हुन्छ, सबैलाई थाहा छ । बिहान भालेको डाकदेखि मध्यरातिसम्म गाडीमा झुन्डिनुपर्छ । तर, खलासी कर्मले उनको पढ्ने सपनालाई छेकेन । धरानदेखि काकडभिट्टा चल्ने गाडीका खलासी थिए उनी । लामो दुरीको गाडी भएकाले उनले बिच बाटोमा अलिक फुर्सद पाउँथे । गाडीको अन्तिम सिटमा बसेर उनले समाजशास्त्र र कानुन पढे । धरान छँदै समाजशास्त्र र कानुनमा स्नातक गरे । पछि काठमाडौँ आएर पत्रकारितामा डिग्री पनि गरे ।

खलासी हुँदा हुँदै उनले मजदुरकाबारेमा समाचार र लेखहरू लेख्न थाले । आफैँ समाचार र लेख लेखेर उनी ब्लास्ट दैनिकको कार्यालयसम्म पुग्थे । ब्लास्टका सम्पादकलाई उनको लेखनले तान्यो । नियमित लेख्न आग्रह गरे । ब्लास्ट पत्रिकाको वितरणमा पनि सहयोग गरे । यही क्रममा उनी ब्लास्ट दैनिकमा काम गर्न पुगे । यता मजदुर आन्दोलनमा पनि निरन्तर लागिरहे । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरानको अगुवाई पनि गरे । ब्लास्टमा काम गर्दा गर्दै उनलाई लाग्यो, मजदुरको अधिकार र आवज उठाउने पत्रिका पनि आवश्यक रहेछ ।

यातायात मजदुरसँग मिलेर औजार साप्ताहिकको प्रकाशन सुरु गरे । उनी त्यो पत्रिकाको प्रधान सम्पादक बने । औजारलाई पछि दैनिक बनाइयो । अहिले पनि औजार दैनिक निरन्तर प्रकाशन भइरहेको छ । उनी त्यो पत्रिकाको प्रधान सम्पादक हुन् । औजार दैनिक केवल व्यापारको लागि नभएर मजदुरहरूको अधिकार र आवजलाई बुलन्द गर्न सुरु गरिएको उनी बताउँछन् ।मजदुरको आवाज बुलन्द गर्नुपर्छ भन्ने मान्यता बोकेका उनले सुरु गरेको औजार पूर्वको लोकप्रिय दैनिककारुपमा स्थापित छ । त्यसो त उनले प्रेस चौतारी नेपालको सुनसरी अध्यक्ष र पूर्वाञ्चल सचिवको समेत जिम्मेवारी पुरा गरेका छन् ।

राजनीतिक योद्धा
भिमज्वाला राईको परिचय मजदुर नेता र पत्रकारमा मात्रै सीमित छैन । उनी कुशल राजनीतिक कार्यकर्ता पनि हुन् । दोस्रो जनआन्दोलनका समयमा तत्कालीन शाही शासनविरुद्ध धरानमा आन्दोलनको आगो उठाउने अगुवामध्ये उनी एउटा हुन् । उनलाई धरानमा जनआन्दोलनका लडाकुका रूपमा पनि चिनिन्छ । लोकतन्त्र ल्याउन तत्कालीन शाही शासकविरुद्ध भएको जनआन्दोलनका क्रममा उनी सदैव अग्र मोर्चामा देखिन्थे, एउटा सिपाही जस्तै बनेर ।

तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा केही नेता बाहिरिएर सङ्घीय समाजवादी नेपाल बनाएपछि एमालेलाई पूर्वमा ठुलै सङ्कट आयो। जनजातिमूलका धेरै नेता बाहिरिएपछि एमालेलाई आफ्नो पकड र शाख बचाइराख्ने चुनौती थियो । सङ्घीय समाजवादी पार्टी खोलेर एमालेविरुद्ध अभियान चलाइरहेका अशोक राईहरुलाई धरान छिर्न नदिन भीम ज्वालाहरुले मोर्चा नै कसेका थिए । उनले त्यो बेला यदि अशोक राईहरुले धरान आउने हिम्मत गरेरमा चारकोसे झाडीबाट लखेट्न चेतावनी दिने उनै भीम राई ज्वाला थिए । उनी अहिले पनि एमालेको एउटा वफादार सिपाही भएर सक्रिय रहेका छन् ।

निरन्तर सक्रिय
तीन वर्षअघि भीम दाइले धरानबाट फोन गरेर भने, ‘भाइ, म अब बस्नेगरी काठमाडौँ आउँदैछु है ।’ म अचम्ममा परेँ । धरानमा दैनिक पत्रिका चलाइरहनु भएको थियो । सुनसरी पार्टी प्रचार विभागका प्रमुख । धरानमै जमिरहनु भएको थियो । मैले भने, ‘हैट !, नआउनुस् ।’ तर, उहाँको एउटै कुरो थियो, ‘मैले पत्रिका चलाएको पनि मजदुर आन्दोलनकै लागि हो । काठमाडौँ आउन लागेको पनि मजदुर आन्दोलनका लागि हो । धरानभन्दा काठमाडौँमा बसेर अलि बढी समय दिन सकिन्छ भनेर आउन लागेको हुँ ।’

उनी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको महासचिव भएपछि पूर्णकालिन काम गर्ने गरी काठमाडौँ आए । धरानमा सेटल भइसकेको परिवारलाई पनि काठमाडौँ ल्याउने निधो गरे । वास्तवमा त्यो निकै जोखमपूर्ण निर्णय थियो । काठमाडौँ उनी सुतेको समय बाहेक मजदुरको काममा लागिरहे । नेपालको सबैजसो जिल्ला पुगे । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका नेता नवराज घिमिरेको भाषामा उनी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको लागि एउटा सम्पती हुन् । उनको व्यक्तिगत जिन्दगी छैन ।

मजदुरको समस्या भनेपछि उनी सदैव तयार हुन्छन् । सम्बन्धित र सरोकारवाला निकायमा पुगेर एकदमै प्रस्ट र निडर बनेर मजदुरको समस्या राख्छन् । उनको अगुवाइमा भएको आन्दोलन र अभियानले मजदुरको पक्षमा धेरै नीतिगत काम भएको घिमिरेको भनाइ छ । उनी मध्यरात र कुनै समस्या भन्दैनन् मजदुरलाई समस्या पर्नासाथ उनी दौडिहाल्छन् । वास्तवमा उनी यतिधेरै खट्छन् की उनी दुर्लभ होलटाइमर हुन् ।

आन्दोलनका अगुवा
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको धरान इकाइबाट सुरु गरेको उनको यात्रा अहिले केन्द्रीय महासचिवसम्म आइपुगेको छ । यिनलाई थाहा छ, मजदुरको सबैखालको जिन्दगी । उनले यसबीचमा सयौँ अभियानको अगुवाई गरेका छन् । दश कक्षा पास नगरी लाइसेन्स नदिने र नवीकरण नगर्ने कानुनविरुद्धको आन्दोलनका अगुवा उनी नै हुन् ।

यसै गरी जरिवाना वृद्धि गरी रु, ५००/–, १०००/– र १५००/– बनाएर यातायात मजदुरलाई आर्थिक शोषण गर्ने ट्राफिक प्रहरीको कालो नियमविरुद्ध आन्दोलनको अगुवाई उनलै गरे । १५ प्रतिशत कमिसनको लोभमा यातायात मजदुरबाट आर्थिक शोषण गर्ने, मजदुरलाई

अपशब्द प्रयोग गर्ने, कुटपिट गर्ने ट्राफिक प्रहरीविरुद्धको आन्दोलनको अगुवाई लगायतका धेरै आन्दोलनको अगुवाई उनले नै गरेको नेता घिमिरले बताए । उनी मजदुरको लागि जोदाहा त हुँदै हुन् । कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलनका राम्रो अध्येता पनि हुन् । उनी राम्रो बोल्न र मैदानमा गएर प्रतिरोध गर्न त सक्छन् नै मजदुर आन्दोलन र अभियानबारे राम्रो लेख्न पनि सक्छन् ।

मजदुर आन्दोलनलाई गहिरो गरी बुझ्ने नेतामा पर्छन् उनी । नेपाली मजदुर आन्दोलनलाई बलियो र समृद्ध बनाउने उनीसँग अनेक सपना र योजना चाङछन् । उनको कुरा सुन्दा यस्तो लाग्छ, उनी सपनाले थिचिएका छन् । त्यही सपनाले नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार छन् ।

-राजेश राई

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula