राहत र उद्धारका सामाग्री लिएर गएको सेनाको हेलिकप्टर थुनिएको अरुण नदीमा पुग्यो

प्रकाशित मिति :2017-04-21 17:41:06

संखुवासभा :  राहत तथा उद्धारका सामाग्री लिएर अाएकाे नेपाली सेनाकाे हेलिकप्टर पहिरोको कारण अरुण नदी थुनिएको स्थानमा  पुगेको छ । काठमाडौबाट आएको नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पुगिसकेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले जानकारी दिए।

बरुण नदीमा पहिरो आएपछि सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर टाढा भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरूणा नदी थुनिएको हो । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेपछि ३ किलोमिटर बाध बनेको छ ।

पहिरोका कारण चीनसँगको नाका किमाथांका जाने बाटो समेत बन्द भएको छ । नदीको करिब ३ किलोमिटरसम्म जमेको पानीका कारण बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ भने बजारको सिंगो बस्ती जोखिममा छ ।

राहत तथा उद्धारका सामाग्री लिएर काठमाडौँबाट आएको १४ र संखुवासभाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको ११ सदस्यीय टोली गरी २५ सदस्यीय राहात तथा उद्धारको टोली घटनास्थल तर्फ हिँडेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

टोलीमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र खानेपानी राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाको प्राविधिक टोली, सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायत छन् । घटनाको पूर्ण विवरण टोली फर्किएपछि मात्र आउने उनले बताए।

रेडक्रसको टोली पनि घट्नास्थलतर्फ लागेको छ । टोलीले औषधी र चाउचाउ, विस्कुट लगायतका खाद्य सामाग्री लगेको छ । नदी थुनिएको स्थान अत्यन्त खोँच रहेकाले सञ्चार सम्पर्क समेत हुन नसकेको बताइएको छ ।

बरुण दोभानमा बनेको ताल फुटे तलतर्फका बस्ती र अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार के कारणले अरुण थुनियो भन्ने पहिचान भैनसकेको बताए ।

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula