साेमबार पनि मोर्चाद्वारा संसद् बैठक बहिष्कार

प्रकाशित मिति :2017-03-20 15:25:52

फाइल तस्बिर

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको व्यवस्थापिका–संसद् बैठक पनि बहिष्कार गरेको छ ।

बैठक सुरु हुनासाथ मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले तराई–मधेसमा केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाका बारेमा छानबिन समिति गठन गर्न माग गरेकी छिन् । ती घटनाप्र्रति दुःख व्यक्त गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनका कारण मानवीय क्षति भएको आरोप लगाइन् ।

वर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथि मधेस केन्द्रित दलहरूले आशा गरेर समर्थन गरेकोमा आफूहरुलाई धोका भएको बताउँदै सांसद झाले आजको बैठकमा पनि परिमार्जनसहितको संविधान संशोधन प्रस्तावको कार्यसूची नआएको भनी आपत्ति जनाइन् ।

संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरेर मोर्चाको घाउमा नुन छर्कने काम गरेको आरोप लगाउँदै उनले भनिन् ‘हामी सहमति र वार्तामार्फत समस्या समाधान गर्न चाहन्छौँ, हामी सहमति गरेर संविधानप्रति अपनत्व खोजिरहेकाबेला संशोधन प्रस्तावलाई राष्ट्रघाति भनेकोप्रति हाम्रो आपत्ति छ ।’

आफूहरू देशभित्रै अधिकार मागिरहेको भन्दै सांसद झाले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेको सरकारलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नका लागि पहल गरिदिन सभामुखलाई आग्रह गर्नुभयो । त्यसको लगत्तै मोर्चासँग आबद्ध दलका नेताहरू नारा लगाउँदै बैठकबाट बाहिर निस्कएको थियो ।

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula