साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’


१६ बैशाख २०८०, शनिबार
pahari

काठमाडौं । हेमराज पहारी स्मृति पुरस्कार–२०७९ बाट ‘साहित्य सध्या’ संस्था सम्मानित भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा रु एक लाख नगदसहितको पुरस्कार साहित्य सध्यालाई प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेले विसं २०६७ चैतमा स्थापना भएको प्रतिष्ठानले प्रत्येक दुई वर्षमा आएको र यसवर्षदेखि प्रत्येक वर्ष पुरस्कार वितरण गर्ने बताइन् । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पहारीले साहित्यिक क्षेत्रबाट मुलुकको सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान प्रदान गरेको बताए । पहारीले प्रकाशित गरेका कृति, साहित्यिक तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानलाई संस्थागत गर्नमा प्रतिष्ठानको सार्थकता रहने उनको भनाइ छ ।

साहित्य सन्ध्या संस्थाका अध्यक्ष राम विनयले पुरस्कारलाई संस्थालाई साहित्यको क्षेत्रमा काम गर्न थप प्रोत्साहन प्रदान गरेको बताए । वरिष्ठ पत्रकार भैरव रिसालले सत्यतामा आधारित रही सबैले आफ्ना क्रियाकलाप अघि बढाई व्यवहारमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए । उक्त पुरस्कार यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, स्व विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोककवि अलि मियाँ तथा मकवानपुरको झरना साहित्यिक परिवारलाई प्रदान गरिएको थियो ।

पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलाद्र्धको एक फन्को’ नियात्रा र केही गीतहरू प्रकाशन भएका छन् । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा प्रतिष्ठानले साहित्य सन्ध्यालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छनोट समितिका संयोजक डा. फणिन्द्र निरौलाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७