फिल्म ‘आदिपुरुष’ : उता लेखकको दाबी ‘नेपाल भारतकै हिस्सा थियो’, यता संवाद नसच्याइ प्रर्दशन

‘आदिपुरुष’ फिल्म लेखकको दाबी : १९०३ अघि नेपाल भारतकै हिस्सा थियो


३ असार २०८०, आईतवार
manoj muntashir

काठमाडौं : दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को पूर्वसन्ध्यामा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले लेखे, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’

मेयर शाहले सामाजिक सञ्जालमा लेखेको त्यो पोस्टले भारतमा समेत तरंग ल्यायो । नेपालको चलचित्र विकास बोर्डले उक्त संवाद ‘म्यूट’ गर्न लगाएर मात्रै चलचित्र प्रदर्शनका लागि अनुमति दियो । तर शुक्रबारदेखि उक्त संवाद नसच्चाइ नेपालका हलहरुमा फिल्म ‘आदिपुरुष’ प्रर्दशन भइरहेको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा एक करोड एक लाख रुपैयाँ नेट (झण्डै डेढ करोड ग्रस) कमाइ गरीसकेको छ ।

बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन ।


उता लेखकको दाबी : नेपाल भारतकै हिस्सा थियो
उता ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित दाबी गरेका छन् भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी भएको जिकिर गरेका हुन् ।

उनले अन्तर्वार्तामा भनेका छन्, ‘नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा १९०४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् ।’

तंशिरले नेपालीहरुसँग कुरा हुन पाए सम्झाउने पनि बताएका छन् । भनेका छन्,‘नेपाल भारतमै थियो । सीता भारतकै छोरी थिइन् । यदि नेपालीहरूलाई कुनै किसिमको चित्तदुखाइ छ र मसँग उनीहरूको कुरा हुन पायो भने जतिबेलाको यो कथा हो त्यो समयमा जानकी भारतकै छोरी थियो भनेर म सम्झाउनेछु ।’

राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नभएको उनको दाबी छ । उनले भनेका छन्, ‘राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७