‘बिजनेस’ नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित


२५ श्रावण २०८०, बिहीबार
gandaki pradesh

पोखरा । ‘बिजनेस’ नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने जनाइएपछि दलहरूको आन्तरिक तयारी नपुगेका कारण सो विषय थाँती रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए ।

उनले तयारी बिनै प्रदेशसभा बैठक निर्धारण गरिएको र सरकारले बिजनेस दिन नसकेको धारणा राखे । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एमालेले विषयगत समितिमा रहने सदस्यको नामावली नबुझाएका कारण समिति गठनको प्रक्रिया लम्बिएको बताए । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले भने समितिमा बस्ने सदस्यको नाम टुङ्ग्याइसकेका छन् ।

प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले अब बस्ने प्रदेशसभा बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने बताए । सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा पेस हुने जनाएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुनसकेको छैन । प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७