प्रवासमा निःशुल्क संगीत कक्षा, उत्पादन स्वदेशमा


१ बैशाख २०८१, शनिबार
singer

–भेषराज कार्की
काठमाडौँ । नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा सङ्गीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उनले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई निःशुल्क सङ्गीत पढाइरहेका छन् ।

‘गीत सङ्गीत त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो । हामीले कक्षामा अङ्ग्रेजी बोल्न दिदैनौँ । यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ । विगतमा नेपाली भाषाकै लागि त्यहाँ आइपुग्नेले अहिले गीत, सङ्गीतमै आफ्नो भविष्य देख्न थालिसकेका छन् । यो हाम्रा लागि ठूलो खुशीको कुरा पनि हो’, गायक पौडेलले भने ।

अमेरिकाको ओहायो सहरमा उनले गीत सङ्गीतको कक्षा सञ्चालन गरिरहेका छन् भने उनका अरु साथीहरुले नृत्य र यससँगै भाषाको पनि कक्षा सञ्चालन गरिरहेका छन् । उनका अनुसार सात सहरमा रहेका यस्ता कक्षाले नेपालीलाई आकर्षित पनि गरिरहेको छ । सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका नेपालीहरु कक्षामा सहभागी छन् । उनीहरुले समय व्यवस्थापन गरेका छन् र निकै चाखसित नेपाली गीत सङ्गीतमा रमाएका छन् ।

गीत सङ्गीत मन नपराउने मानिस कमै होलान् । अधिकांशलाई त गीत गाउने, बाजा बजाउने सोख नै हुन्छ, जुन स्वाभाविक पनि हो । अमेरिकास्थित संस्था इन्ट्रा फाउन्डेसनको व्यवस्थापनमा ओहायोमा रहेका नेपालीको यो सङ्गीत कक्षा हेर्दा सहभागीहरु नेपालमा अधुरा रहेका सपना अमेरिकामा पूरा गर्ने अवसरका लागि तल्लीन देखिन्छन् । यहाँ समय नभएर या आर्थिक आदि कारणले आफ्नो गीत सङ्गीतको भोक मेटाउन नसकेकाहरुले अहिले यसमा लागिपरेका पौडेल बताउँछन् ।

‘प्रवासमा आएर आफ्नो सपना पूरा गर्ने काममा अगाडि बढ्न पाउँदा सहभागीहरु खुसी मात्र हुनुहुन्न, उहाँहरु यस क्षेत्रको भविष्य पनि देख्ने गर्नुभएको छ । यी कक्षाका विद्यार्थीले गीत सङ्गीतमा आफूहरु लाग्ने तयारी नै थाल्नुभएको छ । म पनि प्रवासमा आएर आफ्नै पेसाको काममा लाग्न पाउँदा उहाँहरुभन्दा कम खुशी छैन, निकै नै उत्साहित छु’, गायक पौडेलले भने ।

नेपालमा आफ्ना दुईसहित फुटकररुपमा तयार गरिएका २५ गीति सङ्ग्रहमा स्वर र सङ्गीत दिइसकेका गायक पौडेल अमेरिका पुगेर प्राविधिक शिक्षातर्फ आकर्षित भए । विसं २०७६ मा अमेरिका पुगेपछि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस महामारीले केही समय विश्राम लिनु परे पनि पनि गायक पौडेल पछि इन्ट्रा फाउन्डेसनसँग जोडिए र त्यसयता सङ्गीत सिकाउने शिक्षकका रुपमा कार्यरत छन् ।

‘म सङ्गीतबाट टाढिन नसकेका सन्दर्भमा त्यही काम पाएँ । प्रवासमा आएर सङ्गीत नै सिकाउन पाउँदाको खुशीलाई साधारण शब्दमा मात्र व्यक्त गर्न म सक्दिन । अहिले यो सामान्य सुनिए पनि केही वर्षपछि यसको नतिजा देखिनेछ कि यसबाट अमेरिकामा पनि धेरै नेपाली कलाकार उत्पादन हुनेछन् र आफ्ना प्रतिभा प्रस्फुटन गरेर देखाउने छन्’, उनले भने ।

रेडियो नेपालमा विसं २०६० मा बालगीत, २०६१ मा उपत्यकाव्यापी बालगीत प्रतियोगिता, २०६६ र ६७ मा जागरण गीत, २०७० मा आधुनिक गीतमा उत्कृष्ट भएका गायक पौडेले देश छाडेर पनि सङ्गीत छाड्न सकेका छैनन् । उनले पछिल्लो तीन वर्षमा तीसको हाराहारीमा गीत तयार गरेका छन् । नेपाल आउँदा प्रायः गीत लिएर नै यहाँ आउँछन् ।

विविधि कारणले प्रवास जानु परे पनि गीत सङ्गीतप्रतिको आफ्नो सक्रियतालाई उनले घट्न दिएका छैनन् । यतिखेर पनि उनले १० वटा गीत लिएर आएका थिए उत्पादन गर्न । तर, गीति सङ्ग्रह नभई एक÷एक गीत सार्वजनिक गर्ने योजना उनले बनाएका छन् । गायक पौडेल आफू गीत सङ्गीतमा निरन्तर सक्रिय रहने योजनाअनुरुप नै अघि बढेका छन् । नेपालमा रहँदा नै गीत सङ्गीतमा सक्रिय गायक पौडेलले अमेरिकामा रहेका नेपालीलाई दैनिक तीन कक्षामार्फत नेपाली गीत सङ्गीतप्रति आकर्षित गरिरहेका छन् ।

नेपाली गीत सङ्गीतप्रतिको यो मोह र लगावबाट उहाँले यस क्षेत्रलाई योगदान त दिएकै छन् । यसका अतिरिक्त उहाँले पछिल्लो समय नेपाली सङ्गीत उद्योगलाई पनि टेवा दिन थालेको रुपमा पनि बुझ्न सकिन्छ । किनभने उनी हरेक वर्ष गीत रेकर्डिङ तथा उत्पादनका लागि नेपालमा आउने गरेका छन् । उनले यस वर्ष यहाँ आएर ३० वटा गीत उत्पादन गरे । यो उनको नियमित कार्यक्रम जस्तै बनेको छ ।

नेपालीहरुले अमेरिकामा गीत या म्युजिक भिडियो उत्पादन गर्न महँगो पर्ने गर्दछ । साथै कतिपय कलाकार यसैका लागि नेपालमै आउने अवसर प्राप्त नगर्न पनि सक्छन् । कलाकारहरुले मान्ने गरेको यो झन्झटलाई गायक पौडेलले दुर गरिदिएका छन् । यसबाट सुरुमा सानो ‘भोल्युम’ मा भए पनि नेपाली गीत सङ्गीत उद्योगले व्यवसाय प्राप्त गर्न सकेको छ भन्न सकिन्छ । गायक पौडेलले अमेरिकामा रहेका नेपालीको गीतसङ्गीत उत्पादनको चाहलाई नेपालमा ल्याएर साकार पारिदिने र यहाँको ‘म्युजिक इन्डस्ट्री’ लाई थोरै भए पनि ‘बिजनेस’ दिने योजना निरन्तर नै रहने योजना बनाएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७