किरात राई पत्रकार संघद्वारा पत्रकार छाङ्छालाई ४६ हजार सहयोग


७ मंसिर २०७४, बिहीबार
kirat rai patrakar sangha

काठमाडौं : किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति अध्यक्ष दीपेन्द्र राईले वरिष्ठ पत्रकार गोपाल छाङ्छा राईलाई ४६ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।  किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले सामाजिक सञ्जालमार्फत संकलित रुपैयाँ काठमाडौंको डिल्लीबजारमा रहेको छहरा साप्ताहिक कार्यालयमा पुगेर वरिष्ठ पत्रकार राईलाई हस्तान्तरण गरेको हो । kirat rai patrakar sangha
स्वास्थोपचारका लागि आर्थिक सहयोग ग्रहण गर्दै पत्रकार राईले किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति र सहयोगीको परोपकारी कामको सराहना गरेका थिए । उनले भने, ‘आफ्नै समुदायले गरेको सहयोग सरकारले दिने अनुदानभन्दा धेरै हो । प्राप्त सहयोगले ४० वर्षदेखि उठाउँदै आएको मुद्दा अझ सशक्त बनाउन ऊर्जा मिलेको छ ।’ उनले किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले थालेको अभियानमा साथ दिने सहयोगीलाई समेत धन्यवाद दिए ।
संघ अध्यक्ष दीपेन्द्र राईले एकलाई दुःख पर्दा अर्को पत्रकारले सहयोग गर्ने शुभकार्यलाई संस्कारका रूपमा विकास गर्नपर्ने बताए । अध्यक्ष राईले भने, ‘त्यसो गर्न सके परोपकारी काममात्रै नभएर आपतविपतमा परेकालाई झन् ऊर्जाशील बनाउन सकिन्छ ।’
किरात राई पत्रकार संघ सचिव अवतार राईले संघले थालेको अभियानबाट संकलन हुन बाँकी रकम यथाशीघ्र संकलन गरेर हस्तान्तरण गरिने जानकारी गराए । संघले यसअघि पत्रकार श्रीलाल साह, चुनबहादुर गुरुङ र सूर्यकुमार क्षेत्रीलाई समेत स्वास्थोपचारका लागि आर्थिक सहयोग गरिसकेको छ ।
किरात राई पत्रकार संघ वरिष्ठ उपाध्यक्ष प्रकाश खालिङका अनुसार संघले सामाजिक सञ्जालमार्फत अभियान थालेपछि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतले समेत छाङ्छाको स्वास्थोपचारका लागि आर्थिक संकलन गरेको थियो । फोनिज बेलायतले पत्रकार छाङ्छालाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।
वरिष्ठ पत्रकार गोपाल छाङ्छा राई सरकारी जागिर त्यागेर ४० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनको केही समयअघि ढाडको ट्युमरको शल्यक्रिया गरिएको थियो । स्वास्थ्य सुधार हुँदै गए पनि उनले फिजियोथेरापी गराउँदै आएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७