तरकारीको व्यापारमा बिचौलियाले रजाइँ : मनपरी मूल्य तोक्छन्


३ मंसिर २०७४, आईतवार
vegetable price

काठमाडौं : किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम हुनुको मुख्य कारकतत्व बिचौलियाले आफूखुसी कायम गर्ने मूल्य नै रहेको सरोकारवालाको भनाइ छ। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

vegetable price
बिचौलियाले राख्ने मूल्यकै कारण थोक बजारदेखि खुद्रा पसलसम्म अधिकांश तरकारीको मूल्य समयसमयमा अकासिने गरेको छ। बिचौलिया, कालिमाटीस्थित व्यापारी र खुद्रा व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने भएका कारण उपभोक्ताको भान्सा अहिले महँगिएको छ। चारजनाको परिवारलाई एक छाक तरकारी खान अहिले झन्डै डेढ सयदेखि दुई सय रुपैयाँ खर्चिनुपर्ने बाध्यता छ।
नियामक निकाय आपूर्ति विभाग कालिमाटी तरकारी बजारमा मात्रै सतही मौसमी अनुगमनमा जाने गरेका कारण उपभोक्तालाई राहतभन्दा आहत मात्रै मिलेको उपभोक्तावादी प्रेमलाल महर्जनको भनाइ छ। ‘किसानको लागत मूल्य, स्थानीय संकलकको मूल्य, कालिमाटीका व्यापारीको मूल्य, खुद्रा पसलको मूल्यमा सरकारले अहिलेसम्म वैज्ञानिक अध्ययन गर्न चासो नदिएका कारण किसान र उपभोक्ता दुवै ठगिँदै आएका छन्’, उनले भने, ‘लागतमा झन्डै तेब्बर थपेर बिचौलियाले मनपरी मूल्य तोक्दा तरकारीको मूल्य चर्किएको हो।’
प्रतिनिधिले काभ्रे र धादिङका केही व्यावसायिक तरकारी उत्पादक किसानसँग जानकारी लिँदा सबैभन्दा बढी मुनाफा कालिमाटी तरकारी बजारका व्यापारीले उपभोक्ताबाट असुल्ने गरेको पाइएको छ। त्यसपछि खुद्रा व्यापारी र केही मुनाफा किसानबाट तरकारी खरिद गर्ने पहिलो व्यापारीले लिने गरेका छन्।

बिचौलिया, कालिमाटीस्थित व्यापारी र खुद्रा व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने भएका कारण उपभोक्ताको भान्सा अहिले महँगिएको हो।
काभ्रे पाँचखालका व्यावसायिक किसान बद्रिप्रसाद मैनालीले शुक्रबार साँझ काउली र गोलभेंडा प्रतिकिलो ५०, बन्दा ३० र घिउसिमी ४० रुपैयाँमा स्थानीय तरकारी व्यापारीलाई बिक्री गरेका थिए। धादिङको चरौंदीस्थित किसान हेमनाथ थपलियाले पनि सोही दिन स्थानीय संकलक व्यापारीलाई प्रतिकिलो गोलभेंडा र काउली ५०, बन्दा ३० र घिउसिमी ४० रुपैयाँमा बिक्री गरेका थिए।
अस्वाभाविक रूपमा तरकारीको मूल्यवृद्धि भएपछि पछिल्लो समय सरकारको ध्यानाकर्षणसमेत गराइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायलाई यस विषयमा गम्भीर रूपमा अनुगमन गरी तत्काल मूल्य नियन्त्रणमा लिन आपूर्ति विभागलाई निर्देशनसमेत दिइसकेको छ। तरकारीको मूल्यशृंखलाबारे वैज्ञानिक रूपमा अध्ययन गर्न समिति गठन गरिएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए। ‘समितिले प्रतिवेदन दिएपछि कुन तहमा कसले बढी नाफा खान्छन्, त्यो हेरेर दोषिमाथी कारबाही गर्छौुं, उनले भने।

कुन तहमा कसरी थपिन्छ अतिरिक्त मूल्य ?
काभ्रे र धादिङका किसानबाट शुक्रबार साँझ प्रतिकिलो ५० रुपैयाँले खरिद भएको गोंलभेडा र काउली, ३० रुपैयाँको बन्दा र ४० रुपैयाँको घिउसिमीमा स्थानीय संकलक व्यापारीले प्रतिकिलो ढुवानी खर्च दुई रुपैयाँ, झोला र प्याकिङ खर्च एक रुपैयाँ र नाफा पाँच रुपैयाँ गरी प्रतिकिलोमा आठ रुपैयाँ जोडेर कालिमाटीका व्यापारीलाई बिक्री गरेको चरौंदीका किसान थपलियाले जानकारी दिए।
‘अहिले तरकारीको उत्पादन नै कम भएकाले किसानले तुलनात्मक रूपमा केही आसलाग्दो मूल्य पाएका छन्’, उनले भने, ‘पर्याप्त परिमाणमा तरकारी उत्पादन भएको समयमा स्थानीय व्यापारीले किसानबाट सस्तोमा तरकारी खरिद गरी प्रतिकिलोमै सबै खर्च जोडी २० रुपैयाँसम्म थप्ने गरेका छन्। कालिमाटीका व्यापारीले भने थप ३५ देखि ४५ रुपैयाँ थप जोडेर बिक्री गर्छन्।’
यसरी किसानबाट खरिद भएको तरकारी स्थानीय व्यापारीले सबै खर्च जोडेर शनिबार बिहान ३ बजे नै गोलभेंडा र काउली प्रतिकिलो ५८, बन्दा ४८ र घिउसिमी ५३ रुपैयाँका दरले कालिमाटीस्थित थोक व्यापारीलाई उपलब्ध गराएका थिए। कालिमाटीका थोक व्यापारीले सटर भाडा, दैनिक खर्च र आफ्नो नाफा गरी प्रतिकिलो गोलभेंडामा थप ३७ रुपैयाँ जोडेर प्रतिकिलो ९५ रुपैयाँमा बिक्री गरे।
काउलीमा पनि सबै खर्च कटाई अतिरिक्त २७ रुपैयाँ जोडी ८५, बन्दामा ३७ रुपैयाँ थप गरी ८५ र घिउसिमीमा ३२ रुपैयाँ थप गरी ८५ रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरेका थिए। यही तरकारी खुद्रा पसल सञ्चालकले शनिबार बिहान काउली प्रतिकिलो एक सय १० रुपैयाँका दरले उपभोक्तालाई बिक्री गरेका थिए। त्यस्तै गोलभेंडा एक सय १५, बन्दा र घिउसिमी एक सय पाँच रुपैयाँ प्रतिकिलोका दरले उपभोक्तालाई बिक्री गरेका थिए। खुद्रा व्यापारीले प्रतिकिलो बन्दा, घिउसिमी र गोलभेंडामा लागत मूल्यमा २० र काउलीमा २५ रुपैयाँ थपेर उपभोक्तालाई बिक्री गरेको पाइएको छ।
ठूला व्यापारीले किसानबाट एक क्विन्टल तरकारी किन्दा ९० किलोको मात्रै रकम दिएर थप ठगी गर्दै आएको पाँचखालकै अर्का किसान दिनेश घिमिरेले गुनासो गरे। ‘तरकारी ढुवानी गर्दा बिग्रने र नोक्सानी हुने भन्दै व्यापारीले क्विन्टलको १० प्रतिशतका दरले तरकारीको मूल्य किसानलाई दिँदैनन्’, उनले भने। दुईचार किलो तरकारी मात्रै बिग्रिने भए पनि व्यापारीले प्रतिक्विन्टल १० किलोको पैसा नाफाका रूपमा लिने गरेका छन्।
व्यापारीहरूको सिन्डिकेट रहेको र उनीहरूले तोकेको मूल्यमा तरकारी नदिँदा किसानको तरकारी खेतमै सुकेर नष्ट हुने अवस्था रहेको घिमिरेले बताए। ‘गत वर्ष किसानले मूल्य नपाएका कारण यो वर्ष किसानले त्यति तरकारी लगाएनन्’, उनले भने, ‘यसले पनि तरकारी उत्पादन घटेको हो।’ निर्वाचन पनि यही समयमा परेका कारण यसले तरकारीको मूल्य बढाउन सघाएको उनको भनाइ छ। निर्वाचनका कारण स्थानीय स्तरमा उत्पादित तरकारी गाउँठाउँमै बढी खपत हुन थालेको छ। यसले पनि राजधानीमा तरकारीको उपलब्धता कम भएको हो।
तरकारीमा सबैभन्दा बढी कालिमाटीका व्यापारी र खुद्रा पसलका व्यापारीले बदमासी गर्दै आएको काभ्रे पाँचखालका किसान मैनालीले दाबी गरे। ‘कालिमाटी र खुद्रा पसलका व्यापारीले तरकारी आपूर्तिको अवस्था हेरेर किसानको लागत मूल्यभन्दा दोब्बरभन्दा बढी मूल्य थपेर उपभोक्ताबाट असुल गर्दै आएका छन्’, उनले भने, ‘राज्य निरीह भएका कारण हामी किसान र उपभोक्ता दुवै मारमा छौं।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७