वाम गठबन्धनलाई जिताउन धरानका महिलाहरू जुर्मुराए


२ मंसिर २०७४, शनिबार
dharan election women

धरान : वाम गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले जिताउन अनेम संघआवद्ध महिलाहरू जुर्मुराएका छन् । निर्वाचन क्षेत्र नं १ को महिला उपसमितिले बिहीबार महिलाहरूको भेला आयोजना गरी वडा र टोलहरुमा महिलाहरू सक्रिय गराउने निर्णय गरेको हाे।

dharan election women
बाम गठबन्धनको चुनावी अभियानलाई प्रभावकारी बनाउन प्रत्येक वार्डमा ९ जनाको समन्वयकारी भूमिका हुने गरी क्षेत्र नं १ को २७ वडामा कुल २ सय ४३ जनाको नाम भेलाले चयन गरेको छ । भेलाले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई बाम गठबन्धनको पक्षमा पार्न महिलाहरूले वडा र टोल टोलमा घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको उपसमितिकी सचिव लहरु जिमीले बताइन् ।
यस्तै मतदाता शिक्षा अभियान चलाउने, उम्मेदवारहरुलाई उपस्थित गराएर महिलाहरूको अलग्गै कोणसभा गर्ने र पार्टीसँग पनि समन्वय गरेर घरदैलो, सभाहरु सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिइन् । ‘निर्वाचनमा अत्यधिक बहुमत ल्याउन हामी महिलाहरू फेरी जुर्मुराएका छौँ, अब प्रत्येक वार्ड र टोल बस्तीहरुमा महिलाहरू सक्रिय भूमिकामा रहनुहुनेछ,’उनले भनिन्,‘हामी चुनावको दिनसम्म नै खटिन्छौं ।’
भेलामा निर्वाचन क्षेत्र नं १ अन्र्तगतको धरानको २० वार्ड, बराह नगरपालिकाको १ देखि ५ वार्ड र रामधुनी भाषी नगरपालिकाको ६ र ७ वार्डका अनेम संघका प्रतिनिधिहरूको सहभागिता थियो । उपसमितिकी संयोजक एवं धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले मतदाताहरुमा कुनै द्धिविधा नहुने गरी मतदाता शिक्षा अभियान सुरु गर्नुपर्ने बताइन् ।
उनले प्रत्यक्ष र समानुपातिक दुवैमा सूर्यमा भोट हाल्न पनि आग्रह गरिन् । ‘हामीमा कुनै अलमल हुनुहुदैन, प्रत्यक्षमा पनि सूर्यमा र समानुपातिकमा पनि सूर्यमा भोट हाल्ने हो,र अरूलाई पनि त्यसै गर्न भन्ने हो,’उनले भनिन्,‘अब अनेमसंघमा नयाँ पुस्तालाई पनि सक्रिय बनाउनुपर्छ । आमा, सासुहरुले आफ्नो छोरी बुहारीलाई पनि घरबाट निकाल्नुपर्यो ।’ भण्डरी संयोजक रहेको उपसमितिमा मैया तामाङ र निर्मला राई सहसंयोजक छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७