उम्मेदवार माथिको आक्रमण नरोकिए सरकारले गम्भीर परिणाम भोग्नुपर्ने झलनाथको चेतावनी


२ मंसिर २०७४, शनिबार
jhalnatha khanal

काठमाडौं : एमाले वरिष्ठ नेता झलनाथ खनालले वामगठबन्धनका उम्मेदवारहरु माथिको आक्रमण रोक्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।  एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेको वरिष्ठ नेता खनालले उम्मेदवारहरुमाथिको आक्रमण बन्द गर्न आग्रह गर्दै यस्तो चेतावनी दिएका हुन् ।

jhalnatha khanal‘अहिले देशव्यापी रूपमा उम्मेदवारहरुमाथि घातक हमला भइरहँदा सरकार के हेरेर बसेको छ ?’ प्रश्न गर्दै खनालले भने, ‘सरकारको मौनताले घटनाहरू निकै रहस्मय बन्दै गएको छ, सरकार कतै आफैँ धामी, आफैँ बोक्सी जस्तो त बनिरहेको छैन ?’
वामगठबन्धनका उम्मेदवारहरु माथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै उनले शान्ति सुरक्षा सुदृढ नभए प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको धज्जी उडाएको तथ्य खनालले प्रस्तुत गरेका छन् । काँग्रेसले बहुरंगी घोषणापत्र छापेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै उनले तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
‘कांग्रैसको घोषणापत्र नै आचार संहिता विपरीत छ, एक रङ्गमा मात्र छाप्नु पर्नेमा बहुरंगी घोषणा पत्र छापिएको छ’ खनालले भने, ‘म निर्वाचन आयोगलाई सोध्न चाहन्छु, आचारसंहिता देखाउनका लागि मात्रै बनाइएको हो कि लागू गर्न पनि हो ? यदि लागू गर्न हो भने तत्काल सच्याउन लगाइयोस ।’
सत्ताको दुरुपयोग गरेर निर्वाचन प्रभावित पार्न खोजिए सरकारले गम्भीर परिणाम भोग्ने चेतावनी दिँदै सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भएको र यसको परिणाम नराम्रो हुन सक्नेछ बताए ।
कम्युनिस्ट पार्टीको जन्म नै तानाशाही शासनको अन्त्य र लोकतन्त्रका लागि भएको स्पष्ट पार्दै उनले पुष्पलालले कांग्रेसभित्रको अलोकतान्त्रिक र तानाशाही व्यबहारविरुद्ध विद्रोह गरेर कम्युनिस्ट पार्टी स्थापना गरेको बताए ।
वास्तवमा काँग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाह आउँछ, वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तीव्रता आउँने उनले बताए ।
पुँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा वामगठबन्धन रहेको बताउँदै उनले कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, पोलिटव्युरो सदस्य विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७