धेरै चलेका बलिउडका १० फिल्म


२ मंसिर २०७४, शनिबार
DilwaleDulhaniaLeJayenge 2

काठमाडौं : भारतमा हरेक वर्ष एक हजारभन्दा बढी फिल्म बन्ने गरेका छन् । तीमध्ये केही ठूलो ब्यानर र सुपरस्टार कलाकारका हुने गर्छन् भने धेरैजसो फिल्म सानो ब्यानर, कम बजेट, औसत तथा नयाँ कलाकारका हुने गर्छन् । यस्ता फिल्म हलमा लागेको र उत्रिएको समेत थाहा हुँदैन । बलिउडमा केही त्यस्ता ठूला ब्यानर छन्, जसले सुपरहिट फिल्म दिएका छन् । ठूलामध्येको एउटा ब्यानर हो– यशराज फिल्म प्रोडक्सन । सो ब्यानरले सन् १९९५ मा निर्माण गरेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ यस्तो फिल्म हो, जुन फिल्म हलमा अहिलेसम्मकै सबैभन्दा धेरै समय चलेर रेकर्ड राखेको छ । यो फिल्म मुम्बईको मराठ मन्दिर थिएटरमा एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष लगातार चलेको थियो । भारतीय अनलाइनले धेरै समय हलमा चलेका १० बलिउड फिल्मबारे रिपोर्ट तयार गरेको छ  :

DilwaleDulhaniaLeJayenge 2
सोले : २८६ साता
सन् १९७५ को १५ अगस्टमा रिलिज भएकोे ‘सोले’ पनि बम्पर हिट फिल्म हो । रमेश सिप्पीको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीवकुमार, अमजद खान, जया भादुरी प्रमुख भूमिकामा छन् । एक्सन फिल्म सोले लगातार दुई सय ८६ हप्ता अर्थात् भन्डै ६ वर्ष चलेको थियो ।

दिलवाले दुल्हनिया लेजाएंगे : १००९ साता
आदित्य चोपडाको निर्देशनमा सन् १९९५ मा बनेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ ब्लकबस्टर फिल्म हो । सोही वर्षको अक्टोबर २० मा रिलिज भएको फिल्ममा शाहरुख खान, काजोल, अमरिस पुरी, फरिदा जलाललगायतले अभिनय गरेका छन् । यश चोपडाले निर्माण गरेको फिल्मका सबै गीत चर्चित छन् । यो फिल्म मुम्बईका मराठ मन्दिर थिएटरमा लगातार एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष चलेको थियो

किस्मत : १८७ साता
ज्ञान मुखर्जीको निर्देशनमा बनेको ‘किस्मत’ पनि बम्पर हिट फिल्म हो । सन् १९४३ मा बनेको सो फिल्म मुम्बईका केही हलमा एक सय ८७ हप्ता अर्थात् साढे तीन वर्ष लगातार प्रदर्शन भएको थियो । फिल्ममा अशोककुमार, मुम्ताज शान्ति, शाह नवाजलगायतले अभिनय गरेका थिए ।

मुगल ए आजम : १५० साता
सन् १९६० को अगस्ट ५ मा रिलिज भएको फिल्म ‘मुगल ए आजम’ लगातार एक सय ५० हप्ता चलेको थियो । के असिफको निर्देशनमा बनेको एपिक हिस्टोरिकल ड्रामा जनराको फिल्ममा पृथ्वीराज कपुर, मधुवाला, दिलीपकुमार, दुर्गा खोटेलगायतले अभिनय गरेका थिए ।

बरसात : १०० साता
सन् १९४९ को अप्रिल २२ मा रिलिज भएको ‘बरसात’ एक सय साता अर्थात् झन्डै दुई वर्ष लगातार हलमा चलिरहेको थियो । राज कपुरको निर्देशनमा बनेको फिल्ममा राज कपुर, नरगिस, प्रेमनाथ, निम्मीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेमकथानक बरसातका निर्माता राज कपुर आफैँ हुन् ।

मैने प्यार किया : ५० साता
सलमान खानले हिरोका रूपमा डेब्यु गरेको ‘मैने प्यार किया’ लगातार ५० हप्ता चलेको थियो । राजश्री प्रोडक्सनको ब्यानरमा सुरज बरजात्याले निर्देशन गरेको मैने प्यार किया सन् १९८९ को फिल्म हो । फिल्ममा सलमानका साथ भाग्यश्री मुख्य भूमिकामा छिन् । सलमानले यो फिल्मभन्दा अघि ‘बिबी हो तो ऐसी’मा सहायक भूमिका निर्वाह गरेका थिए ।

हम आपके है कौन : ५० साता
सन् १९९४ अगस्ट ५ मा रिलिज भएको सलमान खान अभिनीत अर्को ब्लकबस्टर फिल्म हो, ‘हम आपके है कौन’ । यो फिल्म पनि लगातार ५० हप्ता चलेको थियो । सुरज बरजात्याको लेखन र निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा माधुरी दीक्षित, रेणुका सहानीलगायतले अभिनय गरेका छन् ।

राजा हिन्दुस्तानी : ५० साता
आमिर खान र करिश्मा कपुर अभिनीत ब्लकबस्टर हिट फिल्म हो, ‘राजा हिन्दुस्तानी’ । सन् १९९६ नोभेम्बर १५ मा रिलिज भएको फिल्म लगातार ५० हप्ता चलेको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको फिल्मका सबै गीत हिट भएका थिए ।

कहो ना प्यार है : ५० साता
ऋत्विक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ ब्लकबस्टर भएको थियो । सन् २००० जनवरी १४ मा रिलिज भएको राकेश रोशन निर्देशित यो फिल्म हलमा लगातार ५० हप्ता अर्थात् झन्डै एक वर्ष चलेको थियो । फिल्ममा ऋत्विकका साथमा अमिशा पटेल मुख्य भूमिकामा छिन् ।

मोहब्बते : ५० साता
सन् २००० को अक्टोबर २७ मा रिलिज भएको ‘मोहब्बते’ हलमा लगातार ५० हप्ताभन्दा बढी चलेको थियो । आदित्य चोपडा निर्देशित फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय, उदय चोपडालगायतले अभिनय गरेका छन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७