‘जनताको विकास र समृद्धिको सपना साकार पार्छु’


१ मंसिर २०७४, शुक्रबार
jAY kumar Rai

भोजपुरको बालम्खा गाविस(हाल आम्चोक गाउपालिका)मा २०२५ साल भाद्र १२ गते जन्मिएका हुन, जयकुमार राई । स्वर्गिय धनबहादुर राई र छलिमाया राईका ५ भाइ छोराहरुमध्ये उनी माइला सन्तान हुन् । स्थानीय शिक्षा ज्योति निमावि र चण्डेश्वरी माविमा कक्षा ८ सम्मको अध्ययन सकेर थप अध्ययनको लागि उनी धरान झरेका थिए । धरानमा काका, बडा बासँग बसेर शिक्षा सदन माविमा कक्षा ९ मा भर्ना भए । २०४५ सालमा एसएलसी परीक्षा दिएका उनले कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् । हाल उनी धरान १५, भानुमार्गका स्थायी बासिन्दा हुन् ।jAY kumar Rai

अध्ययनको क्रममा धरान आएका जयकुमार यहीको स्थायी बासिन्दा मात्र भएनन्, निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पनि होमिए । उनीभित्र राजनीतिक चेतना अंकुराएपछि निरंकुशता, समान्तवादबाट देश र जनतालाई मुक्ति दिलाउने राजनीतिक अभियानमा लागे । पञ्चायतविरुद्ध भुमिगत रहदै २०४६ सालको जनआन्दोलन, २०६२÷६३ को दोस्रो जनआन्दोलनमा उनको सक्रियता उल्लेखनीय रह्यो । जनताको स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने जुनसुकै निरंकुशताको विरुद्धमा उभिने उनै जयकुमार अहिले मङ्सिर २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट साझा उम्मेदवार छन् । सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा उम्मेदवार उनी हाल नेकपा एमालेको सुनसरी जिल्ला कमिटी सदस्य र धरान सहइञ्चार्जकोरुपमा रहेका छन् ।
अहिलेसम्म पार्टी नेतृत्वमा मात्र रहेका उनी नेता, कार्यकर्ता र मतदातामाझ इमान्दार, जुझारु र कर्मठ युवा नेताकोरुपमा परिचित छन् । स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय उनी निरन्तर देश र जनताको मुहारमा खुसी ल्याउन, विकास र समृद्धि ल्याउन खटिरहेका छन् । सधैँ एमालेले जित्दै आएको क्षेत्रमा बामगठबन्धनको साझा उम्मेदवारकोरुपमा यसपालि विजयी बनेर जनताको विकास र समृद्धिको सपना साकार पार्ने उनको योजना छ ।

धरानको विकास र समृद्धि लागि उम्मेदवारी
पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर सुनसरी क्षेत्र नं १ मा उम्मेदवारको रूपमा उठाएको उनको भनाई छ । साथै, नयाँ संविधानले व्यवस्था गरेको जनताको अधिकारहरूलाई अझै संस्थागत गर्न र कार्यान्वयनको तहमा पुर्‍याउन पनि आफ्नो उम्मेदवारी भएको उनी बताउँछन् ।
यसबाहेक स्थानीयस्तरमा आफ्नो मतदाताहरुको जीवनमा परिवर्तन ल्याउन, विकास र समृद्धिको आधार तयार गर्न पनि आफ्नो उम्मेदवारी भएको उनको भनाई छ । एमालेले सधैँ जित्दै आएको क्षेत्रमा विगतको क्रमागत काम, योजनाहरुलाई पनि पुरा गर्न पनि उम्मेदवारी दिएको उनले बताए ।
‘संविधानले जनतालाई सर्वभौम, अधिकार सम्पन्न बनाएको छ, ती अधिकारहरूलाई संस्थागत गर्दै कार्यान्वयन गर्ने, जनताले उपभोग गर्नसक्ने अवस्थामा पु¥याउने जिम्मेवारी वहन गर्न पनि मेरो उम्मेदवारी हो, ‘राईले भने,‘म यही क्षेत्रको जनतासँग सुरुदेखि अहिलेसम्म सँगै बसेर राजनीति गरेको छुँ । मलाई यो क्षेत्रका जनता, मतदाताहरुको सुख–दुःख र आवश्यकताहरू राम्ररी थाहा छ, त्यहीँलाई पुरा गर्न उम्मेदवारी दिएको हुँ ।’

प्रदेशको राजधानीदेखि बेरोजगार समस्याको हलसम्म एजेण्डा
उनको सबैभन्दा पहिलो एजेण्डा नै प्रदेश नं १ को राजधानी धरानमा बनाउनुपर्छ भन्ने छ । हावापानी, भुगोल, धार्मिक सहिष्णुता एवं सांस्कृतिक विविधता, सडक सञ्जाल र सबै १४ जिल्लाको सहज पहुँच, शिक्षा र स्वास्थ्यको गुणस्तरीय सेवा लगायत पक्षहरुले पनि यो क्षेत्र प्रादेशिक राजधानी हुन उपयुक्त भएको उनको भनाई छ । ‘यहाँ किमाथांकाको मानिसलाई र दक्षिण तराईको मानिसलाई पनि काम गर्न आउँदा सहज हुने हावापानी छ ।
सडक, ठुलो अस्प्ताल, शिक्षाको केन्द्र पनि हो । यसको लागि म सक्दो पहल गर्नेछु,’उम्मेदवार राईले भने,‘यो क्षेत्रमा पर्यटनको प्रशस्त सम्भावना छ, स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन विकास, प्रर्वद्धन गर्ने, पूर्वाधार खडा गर्ने योजनाहरू अघि सार्नेछु ।’
साविक बक्लौरी, भरौल, बराहक्षेत्र गाविसलाई धरानसँग जोड्न, सहज पहुँच बनाउन खोलाहरुमा पुल निर्माण र पक्की सडकलाई पनि प्राथमिकता उनको चुनावी एजेण्डा हुन् । अव्यवस्थित सुकुम्बासीहरुलाई घर नम्बरीङ कार्य चाडो सम्पन्न गर्ने र केन्द्रीय घोषणाअनुसार ५ वर्षभित्र कोही पनि घरबार विहिन नहुने व्यवस्थाको लागि आफू लागिपर्ने उनको एजेण्डा छ ।
धरानको एयरपोर्ट निर्माण चाडो गर्न पहलकदमी गर्ने, खानेपानी आयोजना सन्पन्न गर्न, बसपार्क निर्माणमा समन्वयकारी भूमिका खेल्ने, भूपू गोर्खा सैनिकहरुको जायज मागलाई संसद्मा उठाउने, बहुजातीय संग्रहलय निर्माण पुरा गर्ने, खेलकुदको सहर बनाउन रङ्गशाला, कभर्डहल निर्माणको साथै खेलाडीहरुलाई सेवासुविधा दिलाउने पनि उनको एजेण्डा छ । ‘व्यापारिक सहर धरान अहिले खस्किएको छ, यदि यो क्षेत्रको खोलाहरुमा पुल बनाउने र सडक सञ्जाल बनाएर पूर्व लेटाङ, केराबारी हुँदै मेचीनगरसम्म र पश्चिम चतरा, गाइघाट हेटौडा जोड्न सकियो भने फेरी व्यापारिक केन्द्रकोरुपमा चम्किनेछ ।
जोगवनी किमाथांका सडक निर्माण चाडो गराउन पनि मेरो हरसम्भव प्रयास हुनेछ’, उनले भने,‘युवाहरूको बेरोजगारी समस्या हल गर्न केन्द्र, प्रदेशबाट आवश्यक नीति र कार्यक्रम ल्याउने, विदेश पलायन हुनबाट जोगाउन प्राविधिक शिक्षा र विना धितो ऋण उपलब्ध गराउन विशेष पहल हुन्छ ।’ युवा जनशक्तिलाई सिप दिलाएर कृर्षि क्षेत्रमा लगाउने पनि उनको योजना छ ।
तमोरसम्म सुरुङ मार्गको लागि सम्भाव्यता अध्ययन गराउने उनको अर्काे महत्वकांक्षी योजना पनि छ । जलविद्युत उत्पादन गर्ने, तमोरको पानी ल्याएर खेतीयोग्य जमिनमा सिचाईको व्यवस्था गर्ने साथै सेउती र सर्दुमा बाह्रै महिना पानी बगाएर पर्यटकीय आकर्षण बढाउन सकिने उनको योजना छ । ‘सम्भाव्यता अध्ययन गराएर सम्भावना देखिएमा योजना कार्यान्वयनको लागि पहल हुन्छ’, उनले भने ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७