अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ
काठमाडौँ:वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेलाई अख्तियारको टोलीले मित्रपार्क चाबहिलस्थित अपार्टमेन्टबाटै पक्राउ गरेर हिरासतमा लिएको हो । मंगलबार राति काठमाडौँको नयाँबानेश्वरबाट १० लाख रुपैयाँ घुससहित एकजना अधिकृत र एकजना नायव सुब्बा पक्राउ परेको प्रकरणमा महानिर्देशक पाण्डे पनि मुछिएका हुन् ।
मंगलबार राति नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट वैदेशिक रोजगार विभागका अधिकृत कीर्तिबल्लभ पौडेल र विभागकै नायव सुब्बा खडकबहादुर केसीलार्इ अख्तियारको टोलीले १० लाख घुससहित पक्राउ गरेको थियो ।
एकजना म्यान पावर व्यवसायीको ठगी मुद्दा मिलाइदिन भन्दै दुवैजनाले घुस मागेका थिए । १५ दिनअघिबाट उनीहरुले ती म्यान पावर व्यवसायीसाँग १५ लाख रुपैयाँबाट बार्गेनिङ थालेका थिए ।अख्तियारबाट नाम गोप्य राखिएका ती म्यान पावर व्यवसायीले आफ्नो गल्तीबिना नै घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएका थिए । उनले उजुरी दिएपछि अख्तियारले दुवैजनालाई घुससहित समातेको हो ।
पक्राउ परेका दुवैजनालाई घुस लिएको नोटको मुचुल्का उठाएर थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिँदैछ ।
उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बुझिएको छ । पाण्डे आमागमी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।