यूएन शाखाले लुकायो तीन सय सुरक्षा अधिकारीको रिजल्ट


१८ पुष २०७४, मंगलवार
pp

काठमाण्डौं : नेपाल प्रहरीमा हाइटी र डार्फरमा जानका लागि लिइएको ‘एफपीयू मिसन छनोट परीक्षा’ मा चरम लापर्वाही देखिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको आदेश भन्दै यूएन शाखाका प्रमुख (एसएसपी) श्याम खड्काले करीब ३ सय सुरक्षा अधिकारीको रिजल्ट लुकाएको प्रहरी प्रधान कार्यालय स्रोतको दावी छ । मिसन छनौटका लागि मंसिर २९ गतेबाट विभिन्न चरणमा सहभागीको परीक्षा लिइएको थियो । परीक्षा लिएको एक साताभित्र नतिजा प्रकाशित हुनुपर्ने भए पनि नतिजा सार्वजनिक गरिएको छैन ।police

प्रहरी प्रधान कार्यालय केन्द्रीय छनोट समितिले हेड्क्वाटर मातहतका जवानदेखि प्रहरी सहायक निरीक्षक (असई) र देशभरबाट मनोनित प्रहरी नायव निरीक्षक (सई) तथा डीएसपीहरूको लिखित र शारीरिक तन्दुरुस्ती परीक्षा लिएको थियो । प्रदेशहरूको हकमा प्रतिनिधि खटाएर परीक्षा लिएको छनोट समितिले नतिजा तयार गरेर यूएन शाखालाई ‘खामबन्दी नतिजा’ बुझाइसकेको यूएन शाखाका एक अधिकृतले जानकारी दिएका छन् । एफपीयू मिसन हाइटीका लागि कूल एक सय ४० र डार्फरका लागि एक सय ५० सुरक्षा अधिकारीमध्ये दुवै मिसनका लागि १६ जना सई अनिवार्य हुन्छ । त्यस्तोमा प्रहरी प्रधान कार्यालयले पहिलो पटक लिएको परीक्षाको नतिजा समेत प्रकाशन नगरी प्रहरी नायव निरीक्षक (सई) हरूलाई पुनः परीक्षाका लागि काठमाण्डौं बोलाएको छ । हेड्क्वाटर स्रोतका अनुसार आजदेखि (पुस १८) सईको पुनः परीक्षा शुरु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) मनोज न्यौपानेले सईहरूलाई पुनः परीक्षाका लागि बोलाइएको स्विकार गर्दै आवश्यक योग्यता पूरा नभएपछि फेरि परीक्षा गर्न लागिएको जानकारी दिए । उनले भने– ‘जति संख्यामा पास हुनुपर्ने हो, त्यति पास नभएपछि फेरि मौका दिइएको हो ।’ रिजल्ट बाहिर प्रकाशन नगरिए पनि आन्तरिक रूपमा प्रहरी नायव निरीक्षक (सई) हरू न्यून संख्यामा पास भएको उनी दावी गर्छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय छनोट समितिले नतिजा बुझाई सके पनि डीआईजी न्यौपानेले परीक्षा नसकिएको बरु प्रक्रियामा रहेको दाबी गरेका छन् । उनले भने–‘रिजल्ट लुकाएको हैन, छनोटको प्रक्रियामा छ । हाम्रो यो परीक्षा धेरै पारदर्शी हुन्छ ।’

फेरि किन मागियो सूची ?

एफपीयू मिसनका लागि ‘उत्कृष्ट कार्य’ गरे बापत छनोट परीक्षामा सहभागी हुन पाउने व्यवस्था ‘परीक्षा छनोट निर्देशिका २०६९’ ले गरेको छ । हेड्क्वाटरले उत्कृष्ट कार्य गर्ने प्रहरीहरूको परीक्षा लिने र छनोट कार्य गर्नका लागि डीआईजी मनोज न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो । २२ जना प्रहरी अधिकारीहरू छनोट हुन पाउने उक्त कोटामा आफ्ना मान्छे पार्नका लागि प्रहरीका उच्च अधिकारीहरू नै लागेको हेड्क्वाटर स्रोतको दावी छ ।

देशभरबाट यसअघि नै पठाइएको ‘उत्कृष्ट कार्य’ गर्ने प्रहरीहरूको सूचीमा आफ्नो मान्छे नपरेपछि डीआईजी न्यौपानेले पुनः उत्कृष्ट कार्य गर्नेहरूका सूची मागेका छन् । कपिय स्थानमा उनले फोन गरेर ‘फलाना–फलानालाई उत्कृष्ट कार्यमा सिफारिस गरेर पठाउनु’ भनेको आईजीपी सचिवालयमा कार्यारत एक अधिकृत बताउँछन् । पुस ५ गते छनोट परीक्षामा सहभागी हुन आएका उत्कृष्ट कार्य गर्ने जवानदेखि सईसम्मका प्रहरी कर्मचारीलाई डीआईजी न्यौपानेले ३ दिनसम्म राखेर परीक्षा नै नगराई फिर्ता पठाएका थिए । समितिले नयाँ सूची मागेर आगामी माघ दोस्रो साताभित्र परीक्षा लिने तयारी गरेको छ, जबकि त्यतिबेलासम्म एफपीयू मिसनमा सहभागी हुनका लागि आवश्यक तालिम लिइसक्नु पर्छ ।

‘उत्कृष्ट कार्य गर्नेहरूमध्ये छुटफुट कोही हुनसक्छ भनेर ट्रान्सपरेन्सीका लागि फेरि उत्कृष्ट कार्यको सूची मगाइएको हो’–प्रहरी प्रवक्ता समेत रहेका डीआईजी मनोज न्यौपानेले भने–‘उनीहरूको छनोट परीक्षा हुने समय आउँदैछ, पहिले यिनीहरूलाई अलि चाँडो बोलाइएको रहेछ, त्यसैले फिर्ता पठाइएको हो ।’ प्रहरी प्रधान कार्यालयले एफपीयू मिसन छनोट परीक्षामा ‘छनोट निर्र्देशिका २०६९’ लाई समेत नमानेको पाइएको छ । निर्देशिकामा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूले शारीरिक परीक्षा गर्नुपर्ने व्यवस्था छैन ।

तर यस पटकको परीक्षामा निर्देशिका बाहिर गएर डीएसपीहरूको शारीरिक परीक्षा लिएको परीक्षामा सहभागी डीएसपीहरु बताउँछन् । हेडक्वाटर स्रोतका अनुसार छनोट समितिले प्रस्तावित नयाँ निर्देशिकाको ड्राफ्टमा आधारित भएर एफपीयू मिसनमा सहभागी परीक्षार्थीको छनोट गरेको छ । नयाँ निर्देशिकाको ड्राफ्ट गृह मन्त्रालयमा विचाराधीन रहेको छ, स्वीकृत भइसकेको छैन । तर, प्रहरी प्रधान कार्यालयले प्रस्तावित निर्देशिकाको ड्राफ्टमा उल्लेख भएअनुसार डीएसपीहरूको तन्दुरुस्ती परीक्षा लिएसँगै परीक्षाको वैधानिकतामाथि नै प्रश्न उठेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७