भोजपुरमा राजेन्द्र भर्सेस अजम्बर : फेरि ब्युँतियो ‘जातिय राज्य’को बहस


२८ कार्तिक २०७४, मंगलवार
Ajambar VS Rajendra

भोजपुर : अन्य जिल्लामा समृद्धिको बहस भइरहेको बेला भोजपुरमा फेरि एकपटक पहिचान र जातिय राज्यको बसहले पनि प्रवेश पाएको छ । भोजपुरको प्रदेशसभा सदस्यको निर्वाचनको लागि भोजपुर क्षेत्र न. १ मा पूर्व सहयोद्धा हालका विपरित ध्रुवका नेताहरुको उम्मेदवारीसँगै यो मुद्दाले बसह पाएको हो ।

भोजपुर क्षेत्र न.१ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा छ । वाम गठबन्धनबाट प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य चर्चित पूर्वविद्यार्थी नेता राजेन्द्र राई उम्मेदवार छन्, भने लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका नेता अजम्बर राई काङमाङ उम्मेदवार छन् । भोजपुर १ आजसम्म वामपन्थीले कहिल्यै नहारेको क्षेत्र हो । ०४८ देखिका हरेक निर्वाचनमा एमालेले जित्दै आएको यस क्षेत्रमा ०६४ मा माओवादीले जितेको थियो । यो क्षेत्रबाट तीनपटक पराजित भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की यसपटक भोजपुर छाडेर सुनसरी झरिसकेका छन् ।

Ajambar VS Rajendra
ब्युँतियो जातिय मुद्दा
कुनै बेला राजेन्द्र र अजम्बर एउटै पार्टीका सहयोद्धा थिए । अखिलको प्राकदेखी पार्टीको केन्द्रीय कमिटिमा पुग्दसम्म यी दुबै एउटै पार्टीमा थिए । तर, पहिलो संबिधानसभाको बिघटनसँगै एमालेलाई पहिचान बिरोधी पार्टीको आरोप लगाउदै अजम्बरले पार्टी छोडे । तर, अजम्बरहरुले एमालेलाई पहिचान बिरोधी पार्टीको आरोप लगाइरहदा पहिलो पटक त्यसको खुलेर बिरोध गर्ने पहिलो नेता थिए, राजेन्द्र । उनले लेखेका थिए,‘हाम्रो बाटो वर्ग संघर्ष कै हो ।’ त्यही कारण अजम्बरहरुले राजेन्द्रलाई किरातीको कुल बिरोधीसम्म भनेका थिए । आज तिनै दुई भाई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यी दुबैको उम्मेदवारीसँगै भोजपुरमा पुन जातिय मुद्दा ब्युँतिएको छ । अजम्बरको उम्मेदवारीसँगै जातिय राज्यको बहस भइरहेको छ । अजम्बरले पहिचान र समृद्धिको मुद्दा उठाएका छन् । राजेन्द्रले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता सहितको समृद्धिको मुद्दा उठाइरहेका छन् । अब बन्ने प्रदेशसभाले नै प्रदेशको नामकरण गर्ने भएको कारण आफूले जिते पहिचानको आधारमा प्रदेश एकको नाम राख्नका लागि लड्ने अजम्बरले बताइरहेका छन् । यता राजेन्द्रले भने राष्ट्रिय स्वाभिमान सहितको समृद्धिको पक्षमा आफ्ना योजना अघि सारेका छन् । स्रोतका अनुसार अजम्बरले पहिचानका पक्षमा वकालत गर्ने ससाना जातिय संस्था र संगठनहरुको साथको लागि प्रयास गरीरहेका छन् ।

आइतबार भोजपुरको प्याउली र च्याङ्ग्रेमा आयोजित कार्यक्रममा राजेन्द्रले अजम्बरलाई अजम्बर यादव भनेपछि उनीहरुबिच झनैं दुरी सतहमा आएको छ । तर, त्यो सभामा राजेन्द्र आफैले अजम्बरलाई यादव भनेका थिएनन् । कसैको भनाई उधृत गरेर राजेन्द्रले त्यो सभामा भनेका थिए, ‘साथीहरुले अजम्बरलाई अजम्बर यादव भन्ने गर्नु भएको रहेछ ।’ आफू पहिचान बिरोधी नभएको उनको जिकिर छ । भन्छन्, ‘सबै खालका अन्यायपूर्ण विभेद, असमानता आदिका विरुद्ध लड्नपर्छ भन्नेमा दृढ छु । यसैगरी सबै खालका उग्र, अतिवादी जातिवाद, क्षेत्रियतावाद अर्थात् जातीय विद्वेष र अविश्वास फैलाउने विचार र अभियानको विपक्षमा छु ।’ नेपालको सार्वभौमिकता, स्वतन्त्रता, नेपाली नेपालीबीचको एकताको पक्षमा उहाँले सम्झौताहीन संघर्ष गर्ने उनको प्रतिबद्धता छ ।

अजम्बरले यसको खण्डन गरेका छन् । उनले स्टाटास लेखेका छन्, ‘मैले त मेरा चेलालाई यस्तो सिकाएकै होइन, किन यति तल्लो स्तरमा गिरेका होलान् ।’ उम्मेदवारहरुले नै जातिय र पहिचानको बहस सुरु गरेपछि कार्यकर्ता र तथा मतदाताहरुले पनि यसलाई चासोका साथ हेर्न थालेका छन् । अजम्बरले राजेन्द्रलाई पहिचान बिरोधीको आरोप लगाएपनि राजेन्द्रले त्यसको खण्डन गरेका छन् । उनले आफू कसैको पहिचान बिरोधी नभएर सबैको पहिचानको सम्मान गर्ने नेताको रुपमा प्रस्तुत गरिरेहका छन् । राष्ट्रिय एकता, सामजिक सद्भाव र राष्ट्रिय स्वाभिमान सहितको समृद्धिले मात्रै समाज बलियो हुने उनको तर्क छ ।

अलग धाराका अभियान्ता
यी दुबैको राजनीति ४० को शुरुवाती दशकदेखि भएको हो । भोजपुर टेम्के मैयुमका अजम्बर र षडानन्द नगरपालिकाका राजेन्द्रले युवा विद्यार्थी फ्रयाक्सन कमिटी बाहेक कहिल्यै सँगै काम गर्नु परेन । राजेन्द्र ०४३ तिर काठमाडौं आएपछि आरआर क्याम्पसको स्ववियु सदस्य हुँदै २०४९ मा सभापति निर्वाचित भए ।

अजम्बर भने भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य भए । ०४७ सालमा केपी शर्मा ओली अध्यक्ष भएर युवा संघ स्थापना भएपछि अजम्बरको राजनीति भोजपुर संयोजक हुँदै युवा संघतिर मोडियो । राजेन्द्र राई भने विद्यार्थी संगठनमा चर्चित बने । पार्टी्भित्रको बैचारिक संंघर्षमा पनि अजम्बर र राजेन्द्र सधैं नदीका दुई किनाराजस्तै अलग–अलग धारामा बगिरहे । ०५४ सालमा एमाले बिभाजनपछि अजम्बर मालेतिर लागे । राजेन्द्र एमालेको बचाउमा खडा भए । अजम्बर माले सम्बद्ध युवा संघको महासचिव हुँदा राजेन्द्र एमाले सम्बद्ध अनेरास्ववियुको महासचिव हुँदै २ पटक अध्यक्ष बने ।

पार्टी पुनः एकीकरणपछि राजेन्द्र अखिलको अध्यक्ष भए भने अजम्बर युवा संघको सचिव भए । राजेन्द्र अखिल अध्यक्षबाट विदा भएपछि अजम्बर युवा संघको अध्यक्ष बने । पार्टी्र्भित्रको अन्तरसंघर्षमा राजेन्द्र माधव नेपाल पक्षमा थिए भने अजम्बर झलनाथ पक्षमा । ०६५ को आठौं महाधिवेशनमा राजेन्द्र प्रतिनिधि भएनन् । तर अजम्बर झलनाथ प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वा्चित भए । तर, ०६९ मा अजम्बर एमालेबाट बाहिरिएपछि राजेन्द्र केन्द्रीय सदस्य मनोनित भए । ०७० सालमा राजेन्द्रले भोजपुर १ मा टिकट पाएनन् । अजम्बर भने संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर एमालेसँग तेस्रो भए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७