वर्षमान पुनको नजरमा योगेश भट्टराई


२३ कार्तिक २०७४, बिहीबार
Yogesh Bhattarai 2

कमरेड योगेश भट्टराईसँग मेरो पहिलो भेट २०४६ को जनआन्दोलनपछि भएको हो । त्यसबेला उहाँ विद्यार्थी आन्दोलनमा जुझारु नेताका रूपमा स्थापित हुन लाग्नुभएको थियो । त्यसबेला लामो संगत भने हुन सकेन । हामीले नेपालमा जनवादी क्रान्तिको आवश्यकता महसुस गर्‍यौं । र, २०५२ फागुन १ देखि जनयुद्ध सुरु गर्‍यौं ।  जनयुद्ध सुरु हुनुको दुई वर्षअघि नै म भूमिगत भएँ । २२ वर्षको थिएँ त्यसबेला । म भूमिगत भएसँगै कमरेड योगेश भट्टराईसँग भेट हुन छाड्यो । जनयुद्धको तयारी चरणका दुई वर्ष र जनयुद्धभर गरी १२ वर्ष म पूरै भूमिगत भएँ । त्यसबीचमा मैले योगेशजीबारे सुन्थें, तर भेट भएन ।

barsaman pun ko najar ma yogesh bhattrai 2
उहाँ र मेरो भेट झन्डै १३ वर्षपछि शान्तिप्रक्रियाको प्रारम्भमा भयो । त्यसबेला उहाँ नेकपा (एमाले) मा स्थापित युवानेताको छवि बनाइसक्नुभएको थियो । राजनीतिमा उहाँले गरेको प्रगति देखेर मलाई खुसी लाग्यो ।  शान्तिप्रक्रियामा आइसकेपछिको एक दशकको समयमा हामीले थुप्रै अन्तरंग कुराकानी गरेका छौं । नेपाली राजनीति, वामपन्थी आन्दोलनबारे गहन छलफल गरेका छौं । समाजको अवस्था, देशको अवस्थाबारे छलफल गरेका छौं ।

योगेशजी अहिले नेकपा (एमाले) को सचिव हुनुहुन्छ । नेपाली राजनीतिमा स्थापित नेताको छवि बनाइसक्नुभएको छ । उहाँमा सर्वहारा वर्गीय पक्षधरता र क्रान्तिकारी पन अलि बढी देख्छु म । उहाँ एउटा तार्किक, बौद्धिक, स्पष्टवक्ता र सम्भावना बोकेको नेता हो ।  उहाँ गृहजिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनको उम्मेदवार बन्नुभएको छ । क्षमतावान्, सम्भावना बोकेको र राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सक्ने नेता उम्मेदवार पाउनु ताप्लेजुङवासीका लागि गौरव र खुसीको कुरा हो । योगेशजीको उम्मेदवारीले ताप्लेजुङवासीहरू पक्कै पनि हर्षित भएको हुनुपर्छ ।

विभिन्न कालखण्डका ऐतिहासिक आन्दोलनका उपलब्धिहरूलाई नयाँ संविधानले संस्थागत गरिसकेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका प्रमुख उपलब्धिहरू संस्थागत भइसकेका छन् । लामो राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिको संस्थागत गरेको नयाँ संविधान कार्यान्वयनको निर्णायक चरण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ सुरु भएको छ । निर्धारित मितिमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनले सुखद पूर्णता पाउनेछ ।  नेपालको बदलिँदो राजनीति तथा समृद्धिका लागि कमरेड योगेश भट्टराईजस्ता नेताहरू प्रतिनिधिसभामा आउनुपर्छ । हामी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न लागिरहेका छौं ।

समाजवादी क्रान्तिको आधार तयार गर्न पनि योगेशजी प्रतिनिधिसभामा आउनैपर्छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितका वामपन्थी राजनीतिक पार्टीहरूबीच पार्टी एकताको उद्देश्यसहित चुनावी तालमेल भएपछि वामपन्थी गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने निश्चित भइसकेको छ । यससँगै योगेशजीको विजय सुनिश्चित भइसकेको छ ।  म वाम गठबन्धनका संयुक्त उम्मेदवार कमरेड योगेश भट्टराईको पक्षमा मतदान गरेर अत्यधिक बहुमतले विजयी गराउन ताप्लेजुङवासी दिदीबहिनी तथा दाजुभाइमा आग्रह गर्दछु । र, कमरेड योगेशजीलाई विजयको अग्रिम शुभकामना दिन चाहन्छु ।

मिरर मासिकबाट

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७