निर्वाचनको प्रसारमा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्दा आयोगबाट पूर्वस्वीकृति लिनुपर्ने


२३ कार्तिक २०७४, बिहीबार
nirbachan aayoga

काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारमा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्दा पूर्वस्वीकृति एवं अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

nirbachan aayoga

निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले  निर्वाचन आचारसंहिताको उल्लङ्घन नहुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वस्वीकृति एवं अनुमति लिएर मात्र चलाउन पाइने  व्यवस्था गरेकाे हाे  ।
मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा निर्वाचन प्रचार प्रसारको प्रयोजनमा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारी साधनहरूको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि अर्थ मन्त्रालय, भंसार विभाग, गृह मन्त्रालय र यातायात व्यवस्था विभागलाई आयोगले पत्राचार समेत गरेको छ ।
‘राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारमा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन नहुने गरी तोकिएको सङ्ख्यामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वस्वीकृति एवं अनुमति लिएर मात्र सञ्चालन गर्न दिने र यस कुरालाई मध्यनजर गरी प्रचलित कानुन बमोजिमको रीत पूरा गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, भन्सार कार्यालय र यातायात व्यवस्था कार्यालयहरूले आपसी समन्वयमा कार्य गर्ने’ आयोगले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न प्राप्त भएको अनुमतीपत्र सम्बन्धित सवारी साधनको अग्रभागमा स्पष्टरूपमा देखिने गरी राखेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने र अनुमति प्राप्त गरी सञ्चालन गरे नगरेको सम्बन्धमा कडा निगरानी एवं चेक जाँचको व्यवस्था गर्न स्थानीय प्रशासनलाई आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७