भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति यादवलाई घर छाड्न १५ दिने अल्टिमेट
काठमाडौं: पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरभाडा नतिरेको भन्दै १५ दिनभित्र घर छाड्न घर धनीले सार्वजनिक सूचना जारी गरेको छ ।
घर धनी रविभक्त विष्टले एक पत्रिकामा सूचना निकालेर घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्वराष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका छन् । विष्टले सूचनामा १५ दिनभित्र घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।
पूर्वराष्ट्रपति यादव २०७२ साल कात्तिक २ गतेदेखि ललितपुर महानगरपालिका–४ बागडोलमा भाडाको घरमा बस्दै आएका छन् । उक्त घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।
घर धनी विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाइ नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरेका छन् ।
पूर्वराष्ट्रपतिलाई घर छाड्न पत्रिकामा निकालिएको सार्वजनिक सूचना