शीर्ष नेता कहाँ को–कोसँग प्रतिस्पर्धा गर्दैछ ?


१७ कार्तिक २०७४, शुक्रबार
Nepal top leaders देशैभरी उल्लासका साथ मनोनयन दर्ता 1024x461 1

काठमाडौं : नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ ।Nepal top leaders देशैभरी उल्लासका साथ मनोनयन दर्ता 1024x461 1

प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनलाई भव्य र सभ्य बनाउन लगाउने लक्ष्यका साथ आफूहरु प्रतिस्पर्धामा होमिएको उनीहरुको टिप्पणी छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले वारेशनामा गणेश पन्तमार्फत डडेल्धुरामा आफ्नो मनोनयन दर्ता गराएका छन्् । उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट खगराज भट्टले उम्मेदवारी दर्ता गराए ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै काँग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट प्रतिस्पर्धीमा छन् । वाम गठबन्धनका तर्फबाट किसान श्रेष्ठ उम्मेदवार छन् ।

काँग्रेसका महामन्त्री शशांक कोइराला नवलपरासी–१ बाट उम्मेदवार बन्नुभएको छ । काँग्रेसका अर्का नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन । उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले रामसिंह यादवलाई प्रतिस्पर्धामा उतारेको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सोही क्षेत्रबाट उम्मेदवार छन् ।

यसैगरी काँग्रेस नेता कृष्ण सिटौला झापा–३, विजयकुमार गच्छदार सुनसरी–३, मीनेन्द्र रिजाल मोरङ–२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ– १ बाट उम्मेदवारी दिए । उनका प्रतिस्पर्धीमा वाम गठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र चुनावी मैदानमा छन । काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई प्रतिस्पर्धी छन् ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराए । उनको प्रतिस्पर्धीका रुपमा काँग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी त्रिचन्द्र क्याम्पसको प्राध्यापकबाट राजीनामा दिएर उम्मेदवार बनेको हो ।

यस्तै इलाम क्षेत्र नं १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र सोही जिल्लाको क्षेत्र नं २ बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराए । नेता खनालको प्रतिस्पर्धीका रुपमा काँग्रेसले भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ भने पूर्वसभामुखसमेत रहेका नेम्वाङको प्रतिस्पर्धीका रुपमा काँग्रेसले केशव थापालाई उम्मेदवार बनाएको छ ।

यस्तै काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री माधकुमार नेपालले आफ्नो उम्मेदवारी दिए । उनको प्रतिस्पर्धीका रुपमा काँग्रेसले दीपक कुइँकेललाई उम्मेदवार बनाएको छ । काठमाडौँ क्षेत्र नं ५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा एमाले महासचिव ईश्वर पोखरेल र काँग्रेसका तर्फबाट डा प्रकाशशरण महत उम्मेदवार छन् ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दिया क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन। भने गौतमको प्रतिस्पर्धीका रुपमा काँग्रेसले सिँचाइ मन्त्रीसमेत रहेका सञ्जय गौतमलाई उम्मेदवार बनाएको छ ।

वाम गठन्धनका तर्फबाट एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट उम्मेदवार छन् भने उनको प्रतिस्पर्धीका रुपमा काँग्रेसबाट भरतकुमार स्वाँर चुनावी मैदानमा छन् ।

एमालेका उपमहासचिव विष्णु पौडेल रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन, उनको प्रतिस्पर्धीका रुपमा युवराज गिरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनका प्रतिस्पर्धीका रुपमा काँग्रेसको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले उम्मेदवारी दिए ।

नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणको निर्वाचनका लागि गोरखा क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन्। माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराए ।

वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएका महराको प्रतिस्पर्धीका रुपमा काँग्रेसले राजु खनाललाई मैदानमा उतारेको छ । यस्तै माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीबाट उम्मेदवार बनेका छन । उनका प्रतिस्पर्धीका रुपमा रामबहादुर विसी छन् । समाजवादी फोरमका बरिष्ठ नेता अशोक राई काँग्रेसको समर्थनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले काँग्रेससहितको समर्थनमा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले कृष्णप्रसाद दाहाललाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट, सोहि पार्टीका नेता गिरिराजमणि पोखरेल महोत्तरी– १ बाट, हितमान शाक्य काठमाडौँ– १० बाट र झक्कु सुवेदी काठमाडौँ– ६ बाट उम्मेदवार छन् । माओवादी केन्द्रका अर्का नेता मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् भने उनको प्रतिस्पर्धीका रुपमा काँग्रेसका आनन्दप्रसाद ढुंगाना छन् । धनुषा–२ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रामचन्द्र झा उम्मेदवार छन् । उनका प्रतिस्पर्धीका रुपमा कृषि विकासमन्त्रीसमेत रहेका काँग्रेसका नेता रामकृष्ण यादव छन् ।

पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की झापा क्षेत्र नं १ बाट उम्मेदवार छन् । उनका प्रतिस्पर्धीका रुपमा काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा छन् ।

माओवादी केन्द्रका नेत्री उर्मीला अर्याल पर्सा– ४ बाट र नेता प्रभु साह रौतहट– ३ बाट उम्मेदवार बनेका छन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन भने उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट उमेशकुमार यादव, काँग्रेसबाट सकलदेव सुतीहार र स्वतन्त्ररुपमा राजपाका तर्फबाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् । उनका प्रतिस्पर्धीका रुपमा सोही दलका सांसद चन्द्रेश्वर झा स्वतन्त्र रुपमा उम्मेदवारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७