नेपालमा आणविक विकिरण फैलिने खतरा


१६ कार्तिक २०७४, बिहीबार
images cms image 000024047

काठमाडौं: मानव स्वास्थ्यका लागि ज्यादै घातक मानिने आणविक विकिरण नेपाली आकाशमा भए नभएको अनुगमन तथा अध्ययन गर्न सरकारले देशका विभिन्न सातवटा स्थानमा मेसिन जडान गर्न थालेको छ। यो खबर लक्ष्मीप्रसाद उपाध्यायले आजको गोरखापत्रमा लेखेका छन्।images cms image 000024047

एसियाली मुलुकहरू भारत, चीन, पाकिस्तान, बङ्गलादेशले आणविक भट्टी सञ्चालनमा वार्षिक ठूलो लगानी गरिरहेका बेला नेपालले भने आफ्नो वायुमण्डलमा आणविक विकिरण रहे वा नरहेको अध्ययन गर्न पहिलोपटक यो प्रयास थालेको हो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत आणविक विकिरण अनुगमन नेटवर्क स्थापना गरी सरकारले आउँदो तीन महिनाभित्र विभिन्न सातवटा स्थानमा आणविक विकिरण अध्ययन यन्त्र जडान गर्ने भएको हो। यो कार्यका लागि सरकारलाई इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले यन्त्र उपकरण र नेपाली प्राविधिकलाई दक्ष बनाउने तालिम दिने भएको छ।

विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार दक्षिणी, पूर्वी र पश्चिमी सिमाना नजिक ती यन्त्र स्थापना गरिनेछन्। स्थान छनोटका लागि विज्ञहरूसँग छलफल गरी टुङ्गोमा पुगिने पनि उनले बताए। सम्भवतः काठमाडौँ र पोखराबाहेक पूर्वी पहाडको ताप्लेजुङ, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा यस्तो मेसिन राखिनेछ।

आणविक विकासमा धेरै प्रगति गरेका चीन र भारतका बीचमा नेपाल रहनुले जुनसुकै बेला पनि आणविक विकिरण फैलिनसक्ने खतराका कारण सरकारले विकिरणसम्बन्धी अनुगमन गर्न यो योजना थालनी गरेको हो।

आणविक भट्टीमा आगलागी, विस्फोटन तथा आक्रमण हुँदा भट्टीका विकिरण हावाबाट फैलिन सक्ने, नेपालभित्रै रहेको युरेनियमका खानी पनि पहिरो, बाटोघाटो निर्माण तथा भूकम्पले फुट्नसक्ने, हावाले फैलाउनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने उपाय अवलम्बन गर्न यस्तो अनुगमन गर्नु परेको विभागका महानिर्देशक डा। शर्माले जानकारी दिए।

मानव जीवनका लागि अत्यावश्यक खाद्यवस्तु दूध, औषधि, माछा, मासु तथा तरकारीमा प्रयोग हुने विषादीमा समेत विकिरणका मात्रा बढी हुनसक्ने भएकाले शङ्का लागेका चिज वस्तुको समेत परीक्षण गर्न प्रयोगशाला स्थापना गरिनेछ।

महानिर्देशक डा। शर्माले भने, “अत्यधिक विषादी प्रयोग भएका अत्यावश्यक वस्तुमा समेत विकिरण हुने सम्भावना हुने र त्यस्ता वस्तु प्रयोग गर्दा मानव स्वास्थ्यका लागि ज्यादै हानिकारक हुने भएकाले शङ्का लागेका वस्तुको परीक्षण गर्न प्रयोगशालासमेत स्थापना गरिनेछ। ”

अस्पतालमा प्रयोग हुने एक्सरे, सिटी स्क्यान लगायतका उपचारका पद्धति, कृषि तथा रसायनसँग सम्बन्धित अध्ययन अनुसन्धान गर्ने विभिन्न विश्वविद्यालय, अध्ययन संस्थानहरूमा रहेको विकिरणको सुरक्षित भण्डारण हुन नसक्दा पनि विकिरण हावामा उड्नसक्ने भएकाले त्यस्तो संवेदनशील क्षेत्रमा पनि अनुगमन तथा अध्ययन गरिनेछ।

उनले भने, “नेपालमा आणविक भट्टी त छैनन् तर पनि सानोसानो स्केलमा विभिन्न प्रयोजनका लागि राखिएका विकिरणहरू पनि सुरक्षित भण्डारण हुन नसक्दा हाम्रो वायुमण्डलमा आएका हुन सक्छन्। तिनको समेत अनुगमन गरेर त्यसबाट हुने असर न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने हुन्छ। ”

मुस्ताङमा युरेनियम खानी रहेको अनुमान गरिएको छ। सो क्षेत्रलाई हाल नेपाली सेनाले सुरक्षा दिइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७