मध्यावधि निर्वाचन कार्यक्रममा सहभागी हुन कांग्रेसले गर्‍यो यस्तो सर्कुलर


७ माघ २०७७, बुधबार
madhyabadhi

काठमाडौं, ७ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा भोलि (बिहीबार) देशभरका वडासम्म प्रदर्शनको तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका कार्यक्रमहरुमा सहभागी हुन सबै जिल्लाहरुमा सर्कुलर पठाएको छ ।

नेपाली कांग्रेसले निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७ २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलेको छ ।

आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो ।

निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ । त्यसैलाई सहयोग हुने गरी सहभागी हुन कांग्रेसले परिपत्र जारी गरेको हो ।

nirbachan

गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो ।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस विरोधमा उत्रिएको कांग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिनिधि सभा विघटनलाई लिएर कांग्रेसमा दुई मत देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापनामा जोड दिएका छन् भने सभापति देउवा नयाँ निर्वाचनको पक्षमा देखिएका छन् । कांग्रेसले औपचारिक रुपमा सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने बताउँदै आएको छ ।

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ भने बिहीबार (भोलि) देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७