बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यु
काठमाडौं : झापाको बिर्तामोडमा कर्फ्यु आदेश जारी भएको छ। शुक्रवार दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यु जारी गरिएको उनले बताए । अर्जुनधारा नगरपालिका-११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै बिर्तामोडमा स्थानीयवासीले शुक्रवार बिहानैदेखि प्रदर्शन गरेका थिए। यस क्रममा प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो। बिर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।
दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा-११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट बिर्तामोड-१ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो। बिर्तामोड-५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबारविर्तामोड बन्द गरेका थिए। रासस