टिकट नपाए रामचन्द्र पौडेलको जमानत जफत गराइदिने जोशीको चेतावनी


९ कार्तिक २०७४, बिहीबार
govinda raj joshi

काठमाडौं : नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले आगामी मङ्सिरमा हुने चुनावका लागि तनहुँ क्षेत्र नम्बर १ बाट आफुले टिकट पाउनुपर्ने भन्दै दलबलसहित तनहुँ सदरमुकाम दमौलीमा प्रर्दशन गरेका छन् ।  बिहिबार दमौलीमा प्रदर्शनपछि जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट आफुले टिकट पाउनु पर्ने दाबी गर्दे यदी नपाएर रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने चेतावनी दिए ।

govinda raj joshi

उनले तनहूँ क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्तालाई पौडेल विरुद्ध विद्रोहका लागि तयार रहन आग्रह गरे । पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न सल्लाह दिँदै जोशीले भने ‘यदि उहाँ जवरजस्ती चुनाव लड्नु भयो भने उहाँको जमानत जफत हुन्छ, त्यो अवस्था आउनु भनेका उहाँले आत्महत्या गरे सरह हो ।’

तनहुँका जनता पौडेलबाट धेरै लामो समयसम्म ठगिएको भन्दै आफुले टिकट पाउनु पर्ने बताए । आफूले पौडेललाई आत्महत्या गर्नबाट बचाउनको लागि तनहूँ क्षेत्र नम्बर १ मा चुनाव नलड्न सल्लाह दिएको जोशीको भनाई छ । आफूलाई पार्टीले टिकट दिए पनि नदिए पनि तनहूँ क्षेत्र नम्बर १ का जनताले टिकट दिइसकेको र उनीहरुकै बलमा चुनाव जित्ने दावी जोशीले गरे ।

२०५१ सालमा तनहूँ क्षेत्र नम्बर १ बाट भागेर २ मा चुनाव लड्न पौडेल गएको र अहिले पुनः क्षेत्र नम्बर १ मा नै फर्किएको भन्दै अब सो क्षेत्रका जनताले पौडेललाई स्वीकार नगर्ने जोशीको भनाई थियो ।

उनले गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेकोप्रति असन्तुष्ट जनाउँदै  नेपाली कांग्रेस पछिल्लो समय सिद्धान्तहीन भएको बताए । जोशीले सत्ता प्राप्तिको लागि जोसुकैसँग पनि घाँटी जोड्न कांग्रेस नेतृत्व तयार भएको जोशीको आरोप थियो ।  यस अघि सधैं रुखमा भोट हाल्ने बानी परेका कांग्रेस कार्यकर्तालाई कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो र कहिले आँखा चिन्हमा भोट हाल्न नेतृत्वले दवाव दिएको आरोप लगाए ।

 करिव २५ वर्ष तनहुँको राजनीतिक बागडोर आफ्नो हातमा लिएका जोशि भ्रष्टाचारको आरोप लागेपछि थन्किएका थिए । तनहुँमा पौडेल र जोशी पक्षबिच आरोप प्रत्यारोप चल्ने गरेको छ । जोशीमाथि यस अघिका चुनावमा आफ्नो पार्टीलाई अन्तर्घात गरि एमालेलाई खुलेरै भोट हालेको आरोप लागेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भनेर चिनिने तनहुँमा टिकटको लागि काङ्ग्रेस पार्टी्िभत्र रस्साकस्सी देखिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराई आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७