श्रीकृष्ण श्रेष्ठको यादमा मुस्ताङ पुगिन् श्वेता


९ कार्तिक २०७४, बिहीबार
sweta 1

काठमाडौं : आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला । अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर ।

sweta 1

स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पण गर्दै श्वेताले निर्माण गरेको चलचित्र कान्छी अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ । मुस्ताङको लेते र आसपासका ग्रामीण क्षेत्रमा चलचित्रको सम्पूर्ण छायांकन गरिएको छ । चलचित्रका निर्देशक आकाश अधिकारी भन्छन्, ‘यहाँको ग्रामीण परिवेशमा नै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । कान्छीले श्वेताको पीडा भुलाउने काममात्र गरेको छैन । हाम्रै परिवेशको एउटा स्वच्छ चलचित्र पनि बनेको छ ।’

यसअघिको चलचित्र कोहिनुरमा पनि निर्देशक आकाश नै थिए अनि थियो श्रीकृष्ण र श्वेताको जोडी । तर कान्छीको छायांकन गरिरहँदा नायिका र निर्देशकबीच श्रीकृष्णको यादमात्रै बाँकी छ । ‘कतिपय चलचित्रका दृश्य छायांकन गर्दा श्वेता धेरै भावुक बन्थिन् । तर, आफैं सम्हालिनुको विकल्प थिएन, र पतिकै सपना पूरा गर्न आएको स्मरण गर्दै पुनः काममा लाग्थिन्’, आकाश भन्छन् । नेपाली चलचित्र उद्योगमा यसअघि पनि ग्रामीण परिवेश पस्कँदै चलचित्र कान्छी निर्माण भएको थियो र मुख्य भूमिकामा थिइन् नायिका शर्मिला मल्ल । अहिलेकी कान्छी र उहिलेकी कान्छीमा के भिन्नता छ ? निर्देशक आकाश भन्छन्, ‘यो गाउँले परिवेशमा हुर्किएको सामाजिक प्रेमकथा हो । यसमा हाम्रै समाजको कथा छ । उहिलेकी कान्छी त त्यसै पनि लिजेन्ड थिइन् ।’

चलचित्र छायांकन गर्न ४८ दिन लागेको थियो । चलचित्रमा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन् । नीर शाह, अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिंगी अभियान्ता भूमिका श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीको संगीत रहेको छ । वसन्त श्रेष्ठको कारियोग्राफीमा चारवटा गीत समेटिएका छन् । चलचित्र २६ माघबाट प्रदर्शनमा आउने भएको छ ।

श्रद्धाञ्जलि दिन चलचित्र बनाएकी हुँ 

shwetaस्वर्गीय पति तथा नेपाली सिने जगत्का चम्किला तारा श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जलिस्वरूप कान्छी निर्माण गरेकी हुँ । एउटा राम्रो चलचित्र पस्कने मेरो इच्छा हो । अति रमणीयस्थल मुस्ताङको सेरोफेरोमा छायांकन गर्नु कम चुनौतीपूर्ण थिएन । तर यो चुनौतीलाई सहजै स्वीकार गरी मेरो हरेक पाइलामा कलाकार तथा प्राविधिकहरूले साथ दिनुभयो । मेरो सोचलाई साकार बनाउन ‘मानसिक ऊर्जा’ प्राप्त भएको छ ।नेपाली लोकभाकालाई टपक्क टिपेर ‘चरी चट्ट परी भुरुरु खोली तिरैतिर’ बोलको सुमधुर गीत दर्शक श्रोतामाझ कात्तिक महिनाभित्र पस्कने जमर्को गर्दैछु।

नयाँ ‘कान्छी’ आउँदा खुसी

sarmila_malla२०४१ सालमा बनेको बीएस थापा निर्देशित चलचित्र कान्छीकी नायिका शर्मिला मल्ल उद्योगमा नयाँ कन्छी आउँदा खुसी छिन् । एक सय एक दिन मनाउन सफल उतिबेलाको सफल चलचित्रमा कान्छीलाई साथ दिने कान्छा थिए शिव श्रेष्ठ । अहिलेकी कान्छीलाई भने दयाहाङ राईले साथ दिएका छन् । पुरानो कान्छीका संगीतकार गोपाल योञ्जन हुन् । कान्छाकान्छीको प्रसंगमा यदाकदा चलचित्र निर्माण हुने गरेका छन् । दुई दशकअघि निर्देशक सूर्य बोहोराले राजेश हमाललाई नायक लिएर चलचित्र कान्छा बनाएका थिए । अहिले भर्खरै अर्का निर्देशक शोभित बस्नेतले छोरो सलोनलाई लिएर बाबुकान्छा निर्माण गरेका छन् ।

अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७