तामाङसँग बदला लिने ‘बाबुसाहेब’ रणनीति


७ कार्तिक २०७४, मंगलवार
pashupati

काठमाडाैं : मनोनयन दर्तासँगै जिल्लामा वयोवृद्ध तथा पञ्चायत पृष्ठभूमीका राप्रपा (प्रजातान्त्रिक अध्यक्ष पशुपतिशमशेर राणा र एमाले–माओवादी केन्द्र गठबन्धनका युवा उम्मेदवार शेरबहादुर तामाङबीच हुने रोचक भिडन्तबारे जिल्लामा अडकलबाजी सुरु भएका छन्। यो खबर दिनेश थापाले आजको राजधानीमा लेखेका छन्।

pashupati

१० मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दर्ता गराएका राणाले यसअघिका दुईवटै संविधानसभा निर्वाचनको हारको बदला लिने रणनीतिसहित उम्मेदवारी दिँदै गर्दा उनलाई सत्तासीन दल कांग्रेसको भर छ।

२०४८ सालको आमनिर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको आमनिर्वाचनमा राप्रपाकै तर्फबाट जितेका राणा गणतन्त्र स्थापनापछिका दुई निर्वाचनमा पराजित भए। यो क्षेत्रमा उनको छैटौंपटक जनपरीक्षा हुँदै छ।

पहिलो संविधानसभा निर्वाचनमा उनलाई हराएका माओवादीका दावा तामाङ उनकै क्षेत्रमा प्रदेशसभामा प्रतिस्पर्धामा रहे पनि दोस्रो संविधानसभा निर्वाचनमा उनलाई पराजित गरेका तामाङसँगै उनको भेट हुँदै छ। छैटौंपटक सोही क्षेत्रबाट निर्वाचन प्रतिस्पर्धामा उत्रँदै गर्दा राणालाई स्थानीय तहको मत हिसाब गर्ने हो भने जित्न सहज छैन।

तर लामो समय सो क्षेत्रमा विकासको नेतृत्व गरेका राणासँग पछिल्ला दुईवटा निर्वाचनबाट जितेका उम्मेदवारले आशातित विकास गर्न नसकेको जस भने छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतमध्ये एमाले एक्लैको २५ हजार ७ सय ९० मत छ भने माओवादी केन्द्रको १४ हजार १ सय ८ मत छ। दुवैको जोड्दा ३९ हजार ८ सय ९८ मत पुग्छ।

राणालाई सघाएको कांग्रेसको २० हजार २ सय २४ मत छ भने राप्रपाको ८ हजार ३ सय ४४ मत छ। दुवैको गरी कुल २८ हजार ५ सय ६८ मत मात्रै रहेको छ। यो परिणामलाई विश्लेषण गर्ने हो भने राणालाई जित हासिल गर्न गाह्रो हुने देखिन्छ।

राणालाई हराउँदा सिन्धुपाल्चोकमा आमूल परिवर्तन हुन्छ भन्ने सपना बाँडेका दुई कम्युनिस्ट उम्मेदवारहरूले पनि खासै केही परिवर्तन गर्न नसकेको यस क्षेत्रका मतदाताको आरोप छ। ‘यसपटक जे पनि हुन सक्छ, यसै भन्न सकिन्न,’ क्षेत्र नम्बर २ का एक मतदाताले भने। वाम गठबन्धनका उम्मेदवार भने यसलाई स्विकार्न तयार छैनन्। ‘यसअघिका दुईवटा निर्वाचनमा हामी संविधान बनाउन लागेका हौं, अब बहुमतको सरकारपछि जिल्लाको आमूल परिवर्तन हुन्छ,’ राणाका मुख्य प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले भने। नेपालमा सामन्तवादको अन्त्य भइसकेको र सिन्धुपाल्चोकमा अझै यसको अवशेष बाँकी रहेकाले यो निर्वाचनमा त्यसलाई अन्त्य गर्ने तामाङको भनाइ छ। ‘जो जति वेटका भए पनि निर्वाचनमा जनता नै हेभी वेट हुन्, त्यसैले जित हाम्रो नै हुन्छ,’ तामाङले भने।

यस क्षेत्रमा आठ प्रतिस्पर्धी छन्। त्यसमध्ये सबैभन्दा कान्छो उमेरका छन्, कुमार बोगटी। उनी भर्खर २७ वर्षका भए। बूढानीलकण्ठ–११ काठमाडौंका बोगटी वैद्य नेतृत्वको माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट राणा र तामाङलाई टक्कर दिँदै छन्। तर मुख्य प्रतिस्पर्धा भने राणा र तामाङबीच नै हुने देखिन्छ। छैटौंपटक चुनावी मैदानमा रहेका राणा र चौथोपटक चुनावी मैदानमा रहेका तामाङबीच यो चौथो भिडन्त हो। दोस्रो संविधानसभा निर्वाचनमा फराकिलो मतान्तरले तामाङसँग पराजित भएका राणा सम्भवतः यो अन्तिमपटक सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धा गर्ने उनी निकटका राप्रपाका नेताहरूले जानकारी दिएका छन्। ‘उमेरका हिसाबले पनि अबका चुनाव ‘बाबुसाहेब’ले फेस गर्न सक्नु हुन्न, यो अब उहाँको अन्तिम चुनावी प्रतिस्पर्धा हो,’ राणानिकट राप्रपा प्रजातान्त्रिकका एक नेताले भने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७