वाम र लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारको चुनौती


७ कार्तिक २०७४, मंगलवार
uml congress and moist

रामेछाप : वाम गठबन्धनविरुद्ध माओवादीकै बागी उम्मेदवार
वाम गठबन्धनलाई सबैभन्दा ठूलो झड्का रामेछापमा लागेको छ । प्रतिनिधिसभा र प्रदेश सभाका दुईवटै क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवार खडा भएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा माओवादीका श्यामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनको विरुद्धमा माओवादीकै पूर्वसभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी छिन् । त्यस्तै, प्रदेश सभाका दुईवटा क्षेत्र एमालेको भागमा परेको छ । क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र २ बाट कैलाश ढुंगेल उम्मेदवार बनेका छन् ।

उनीहरूको विरुद्ध पनि माओवादी नेताहरू बागी उम्मेदवार बनेका छन् । क्षेत्र नं. १ मा हेमन्त पौडेल र क्षेत्र नं. २ मा मयनकुमार मोक्तानले उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार उनीहरूलाई माओवादी केन्द्रकै नेता युवराज चौलागाईं, पेमा लामा, रामकुमार लामा, यशु चौलागाईं, नेत्र लामा, खड्ग घिसिङ, रेम थापा, धनदेवी श्रेष्ठलगायतको पनि समर्थन छ ।

uml congress and moist

मनाङ : पहिले भर गरिएका मनाङेबाट नै एमालेलाई डर
प्रदेश सभा क्षेत्र नं. २ का लागि एमाले मनाङले दीपक मनाङेको नाम सिफारिस गरेको थियो । नेतृत्वबाट पनि मनाङेले टिकटको आश्वासन पाएका थिए । तर, अन्तिम समयमा एमालेले खाण्ड लामा गुरुङलाई उम्मेदवार बनायो । त्यसका विरुद्ध मनाङेले बागी उम्मेदवारी दिएका छन् । पाँच हजार आठ सय ८० मतदाता रहेको मनाङमा मनाङेले थोरै प्रभाव पार्दा पनि नतिजा तलमाथि हुने डर एमालेलाई छ ।

ओखलढुंगा : आधिकारिक उम्मेदवार विरुद्ध कांग्रेसकै बागी उम्मेदवार
प्रदेश सभाको क्षेत्र नं. २ मा कांग्रेसले जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई उम्मेदवार बनाएको छ । तर, टिकट वितरण गर्दा नेतृत्वले गलत निर्णय गरेको भन्दै तरुण दलका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीले पनि उम्मेदवारी दर्ता गरेका छन् । सुनुवारलाई टिकट दिएको विरोधमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसहितका जिल्लाका ३१ नेता÷कार्यकर्ताले विज्ञप्ति निकालेका छन् ।

दोलखा : पशुपति चौलागाईंविरुद्ध पुराना एमाले नेता लालकुमार विद्रोही
प्रदेश सभाको क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट एमाले नेता पशुपति चौलागाईं उम्मेदवार छन् । उनका विरुद्ध एमालेकै पुराना नेता लालकुमार केसीले उम्मेदवारी दिएका छन् । एमालेले टिकट नदिएपछि केसी मालेबाट उम्मेदवार बनेका हुन् । उनी ०५४ मा जिल्ला विकास समितिको सभापति थिए ।

पूर्वरुकुम : माओवादीकै केन्द्रीय नेता विद्रोही उम्मेदवार
वाम गठबन्धनका तर्फबाट पूर्वीरुकुममा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रकी कमला रोक्का र प्रदेश सभाको क्षेत्र नं. १ बाट माओवादीकै तेजबहादुर ओली उम्मेदवार बनेका छन् । उनीहरू दुवैविरुद्ध माओवादीकै नेताहरू विद्रोही उम्मेदवार बनेका छन् । रोक्काको क्षेत्रमा माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तेजेन्द्र खाममगर र ओलीको क्षेत्रमा पुणीराज घर्तीले उम्मेदवारी दिएका छन् । नेतृत्वले पिछडिएको क्षेत्रलाई उपेक्षा गरेर टिकट वितरण गरेको भन्दै स्थानीय केही माओवादी नेताहरूले पनि विद्रोही उम्मेदवारलाई नै साथ दिएका छन् ।

नुवाकोट : जगदीश्वरनरसिंहविरुद्ध कांग्रेसकै बागी उम्मेदवार
कांग्रेसले नुवाकोटको प्रदेश सभा क्षेत्र नं. १ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । उनका विरुद्ध कांग्रेसकै बद्री त्रिपाठीले बागी उम्मेदवारी दिएका छन् । कांग्रेस कार्यकर्तामाझ लोकप्रिय रहेका उनी साबिकको मदानपुर गाउँ कमिटीका पूर्वसभापति हुन् । स्थानीय तह निर्वाचनमा त्रिपाठी बेल्कोटगढी नगरपालिकाको मेयरका दाबेदार थिए ।

लमजुङ : दिलबहादुर घर्तीविरुद्ध द्वारिकाप्रसाद मिश्रको उम्मेदवारी
प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कांग्रेस नेता दिलबहादुर घर्तीविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा समेत बागी उम्मेदवार बनेका द्वारिकाप्रसाद मिश्रले घर्तीविरुद्ध पनि उम्मेदवारी दिएका छन् । कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

जाजरकोट र मुगु : दुई जिल्लाका ६ वटै क्षेत्रमा वाम गठबन्धनका बागी
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् । शाहको बागी उम्मेदवारी परेपछि एमालेको भागमा परेको प्रदेश सभामा माओवादीले र माओवादीको भाग परेको क्षेत्रमा एमालेले पनि उम्मेदवारी दिएको छ । त्यस्तै, मुगुमा प्रतिनिधिसभा र प्रदेशका सबै सिट एमालेलाई दिएको भन्दै तीनै क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको छ ।

संखुवासभा : वाम र लोकतान्त्रिक दुवै गठबन्धनका बागी उम्मेदवार
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका राजेन्द्र गौतम र कांग्रेसका तर्फबाट दीपक खड्का उम्मेदवार छन् । उनीहरू दुवैविरुद्ध स्थानीय कांग्रेस नेता बालकुमार राई र एमालेका डा. गुप्तबहादुर श्रेष्ठ बागी उम्मेदवार छन् । त्यस्तै, प्रदेश सभाका दुवै क्षेत्रमा पनि कांग्रेसका बागी उम्मेदवार खडा भएका छन् ।

म्याग्दी : कांग्रेस र एमाले दुवैका बागी उम्मेदवार
प्रदेशसभा क्षेत्र नं. १ बाट एमाले र कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका विनोद केसी र लोकतान्त्रिक गठबन्धनका तर्फबाट भीमबहादुर गौचन उम्मेदवार बनेका छन् । उनीहरूविरुद्ध कांग्रेसका पुराना नेता नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी तथा एमालेका केपी अधिकारीले बागी उम्मेदवारी दिएका छन् । ‘मैले पार्टी निर्णयविरुद्ध नभएर कार्यकर्ताको मनोबल बढाउन उम्मेदवारी दिएको हुँ,’ महतले भने, ‘दुवैखाले अधिनायकवादको विपक्षमा रहेका मतदाताको सहयोग मलाई हुन्छ ।’

हुम्ला : वाम गठबन्धनविरुद्ध माओवादीका विद्रोही उम्मेदवार
दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छक्कबहादुर लामाले प्रतिनिधिसभाका वाम गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिमीदोर्जे उम्मेदवार छन् । त्यस्तै, प्रदेशसभाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका लालकेस जैसी वाम गठबन्धनका उम्मेदवार हुन् । उनीविरुद्ध पनि माओवादीकै सुनम ग्याल्जेन लामा विद्रोही उम्मेदवार छन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७