भन्सार कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी


७ कार्तिक २०७४, मंगलवार
champangi

काठमाडौं  : १३ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ । भन्सार कर्मचारीलाई घुस खुवाएर उनीहरूले सजिलै विमानस्थलबाट चिम्पान्जी नेपाल छिराउने गरेको अनुसन्धानमा खुलेको छ ।

champangi

नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न ६ जनालाई नेपाल प्रहरीले ३१ असोजमा पक्राउ गरेको थियो । उनीहरूबाट दुईवटा चिम्पान्जी बरामद भएका थिए । सो गिरोहले भन्सार कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारी लामो समयदेखि अफ्रिकाबाट नेपालमा चिम्पान्जी तस्करी गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सञ्जीव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन एवं सरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका थिए । पक्राउ परेका तिवारी भन्सार एजेन्ट हुन् । उनले भन्सारका कर्मचारीलाई ५० हजार घुस दिएर चिम्पान्जी छिराएको बयान दिएका छन् । उनकै बयानका आधारमा जिल्ला वन कार्यालय काठमाडौंले विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीमाथि छानबिन अघि बढाएको छ । ‘शोभराजले नेपालको विमानस्थलबाट हात्ती पनि छिराउँछु भनेको सही रहेछजस्तो लाग्यो,’ अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकारीले भने, ‘पैसा खुवाएपछि कर्मचारीले जे पनि सजिलै पास गराउँदा रहेछन् ।’

नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न ६ जनालाई नेपाल प्रहरीले ३१ असोजमा पक्राउ गरेको थियो । उनीहरूबाट दुईवटा चिम्पान्जी बरामद भएका थिए ।
लामो समयदेखि तस्करी
नेपालमा पहिलोपटक चिम्पान्जी बरामद भएको हो । अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेर लामो समयदेखि चिम्पान्जी तस्करी गरिरहेको प्रहरी अधिकारीहरूले जनाएका छन् । बिबिसीको एक अनुसन्धानात्मक रिपोर्टअनुसार आइभोरी कोस्टबाट पटकपटक नेपालमा चिम्पान्जी तस्करी भएको छ । तर, विगतमा नेपालमा चिम्पान्जी भेटिएको थिएन ।

‘भारत लैजान नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको देखिन्छ,’ सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले भने, ‘नेपालबाट सडकमार्ग हुँदै भारत पठाउने गरिएको हुन सक्छ ।’ पक्राउ परेका तीनजना भारतीय चिम्पान्जी लिन नेपाल आएका थिए । पाकिस्तानी नागरिक खान पैसा लिन मंगलबार मात्र दुबईबाट नेपाल आएका थिए । हालसम्मको अनुसन्धानमा पाकिस्तानी नागरिक नै नाइके भएको खुलेको छ । नाइजेरियादेखि भारतसम्म चिम्पान्जी तस्करीको सबै प्रबन्ध उनले नै मिलाएका थिए । नेपालमा चरा आयात तथा कारोबारको लाइसेन्स भएका भारतीको लाइसेन्स दुरुपयोग गरी विभिन्न चराहरू नेपाल ल्याएको भन्दै त्यसभित्र उनीहरूले चिम्पान्जी र बाँदरहरू लुकाएर तस्करी गरेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सो चिम्पान्जी नाइजेरियामा रहेका भारतीयहरूले पठाएका हुन् । समूहका दुईजना भारतीय नाइजेरियामा पक्राउ परिसकेका छन् । पाकिस्तानी नागरिक खानले नै भारतीयलाई नाइजेरियामा सम्पर्क गरी तस्करीमा सघाएका हुन् । दुबईमा बस्ने खान विभिन्न किमिसका अवैध गतिविधिमा संलग्न व्यक्ति भएको हुन सक्ने प्रहरी आशंका छ । चिम्पान्जीसँगै विभिन्न प्रकारका एक सय १२ वटा चरा र आठवटा बाँदर प्रजातिकै जनावरसमेत उनीहरूले नेपाल भित्राएका थिए । केही चराहरू आयात र बिक्री–वितरण गर्न पाइन्छ । तिनै चराहरू आयात गरेको भनेर लुकाएर चिम्पान्जी तस्करी गरिएको थियो ।

धनाढ्य व्यक्तिहरूले सोखका लागि घरमा चिम्पान्जी पाल्ने गरेका छन् । खाडी देश, पूर्वी एसियन देश र चीनमा चिम्पान्जीको माग छ । एक वर्षमा करिब तीन हजार चिम्पान्जीको तस्करी हुने गरेको राष्ट्रसंघको वन्यजन्तु संरक्षणसम्बन्धी निकायको अनुमान छ । धेरैजसो बच्चा चिम्पान्जीको तस्करी हुने गरेको छ । माउ चिम्पान्जीलाई नियन्त्रणमा लिन र ओसारपसार गर्न गाह्रो हुने भएकाले तस्करहरूले बच्चाहरूको तस्करी गर्ने गरेका छन् । एउटा बच्चा चिम्पान्जीलाई नियन्त्रण लिन १० वटा अन्य चिम्पान्जीको हत्या हुने अनुमान गरिएको छ । एउटा बच्चा चिम्पान्जीको १० देखि १२ हजार अमेरिकन डलरमा बिक्री हुने गरेको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७