भीआईपीकाे भाइटीका (फोटो फिचर)
काठमाडौं : यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।
सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । भाइटीकाको अवसरमा शनिबार राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न नेताहरुले टीकाग्रहण तथा लगाइदिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले टीकाको उत्तम साइत ११ः५१ बजे आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफेनो निवास बुढानिलकण्ठमै बहिनी दुर्गा चन्दको हातबाट उत्तम साइतमै टीकाग्रहण गरेका छन् । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरे । प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे । संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे ११ बजे भक्तपुर बालकोटस्थित निवासमा बहिनीद्वय कौशल्या कोइराला र विष्णुमाया ढकालको हातबाट तिहारको भाइटीका लगाए । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुरामले आफ्नी दिदी थिरकुमारी पराजुलीबाट टीका ग्रहण गरेका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराईले गृह जिल्ला ताप्लेजुङमा दिदिहरुबाट टिका लगााए ।
पूर्वज्ञानेन्द्र शाहले कान्छी बहिनी शोभा शाहीसँग टीका ग्रहण गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पञ्चाङ्ग निर्णयक समितिले तोकेको उत्तम साइत ११ः५१ बजे भन्दा अगाडि नै टीका ग्रहण गरेका हुन् । उनले विहान १०ः४५ बजेको साइतमा टीका ग्रहण गरेको जनाइएको छ । यता राप्रपाका अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले आफ्ना बहिनीहरु विमला, रीता र बसुको हातबाट टीकाग्रहण गरेका छन् ।