नेपाल चिम्पान्जी तस्करीको ट्रान्जिट : एयरपोर्टबाटै आयात, भारतीय र पाकिस्तानी पक्राउ


२ कार्तिक २०७४, बिहीबार
Baby at Tacugama

नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । दुईवटा चिम्पान्जीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिक छन् । नेपाली नागरिक सञ्जीव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका हुन् । गिरोहका नाइके पाकिस्तानी नागरिक खान हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Baby at Tacugama

नेपाल ट्रान्जिट, भारतमा तस्करी सो समूहले चिम्पान्जी तस्करीमा नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ । ‘भारतमा लैजान चिम्पान्जी नेपाल ल्याइएको देखिन्छ,’ सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले भने, ‘त्यसमा केही नेपालीले पनि सहयोग गरेका थिए ।’ पक्राउ परेका तीनजना भारतीय चिम्पान्जी लिन नेपाल आएका थिए । पाकिस्तानी नागरिक पैसा लिनका लागि मंगलबार मात्र दुबईबाट नेपाल आएका थिए । हालसम्मको अनुसन्धानअनुसार पाकिस्तानी नागरिक नै नाइके भएको प्रहरी अधिकारीहरू बताउँछन् । नाइजेरियादेखि भारतसम्म चिम्पाञ्जी तस्करीको सबै प्रबन्ध उनले नै मिलाएका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सो चिम्पाञ्जी नाइजेरियामा रहेका भारतीयहरूले पठाएका हुन् । समूहका दुईजना भारतीय नाइजेरियामा पक्राउ परिसकेका छन् । पाकिस्तानी नागरिक खानले नै भारतीयलाई नाइजेरियामा सम्पर्क गरी तस्करीमा सघाएका हुन् । दुबईमा बस्ने खान विभिन्न किमिसका अवैध गतिविधिमा संलग्न व्यक्ति भएको हुन सक्ने प्रहरी आशंका छ ।

विमानस्थलमा सेटिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर चिम्पाञ्जी तस्करी भएको अनुसन्धानमा खुलेको छ । सेटिङ मिलाउने भन्सार एजेन्ट राजकुमार तिवारी पनि पक्राउ परेका छन् । भन्सार कर्मचारीलाई सेटिङ मिलाएर उनले चिम्पाञ्जी तथा बाँदरहरू नेपाल भित्र्याएका थिए ।

चिम्पाञ्जीसँगै विभिन्न प्रकारका एक सय १२ वटा चरा र आठवटा बाँदर प्रजातिकै जनावरसमेत उनीहरूले नेपाल भिœयाएका थिए । केही चराहरू आयात र बिक्री–वितरण गर्न पाइन्छ । पक्राउ परेका नेपाली युवक तिवारीसँग चराहरू कारोबार गर्ने लाइसेन्स छ । उनकै लाइसेन्स प्रयोग गरी चरासँगै चिम्पाञ्जी लुकाएर नेपाल ल्याइएको सिआइबीले जनाएको छ । तस्करीमा विमानस्थल भन्सारका कर्मचारीहरूमाथि समेत छानबिन हुने प्रहरीले जनाएको छ ।

भारतमा किन चिम्पाञ्जी र बाँदरको तस्करी हुन्छ भन्ने खुल्न सकेको छैन । एउटा चिम्पाञ्जी उनीहरूले चार लाख भारतीय रुपैयाँमा किन्ने गरेको प्रहरीले जनाएको छ । चिम्पाञ्जी र बाँदरलाई प्रहरीले जावलाखेलस्थित चिडियाघरमा राखेको छ । थप अनुसन्धानको जिम्मेवारी जिल्ला वन कार्यालय काठमाडौंलाई दिइएको सिआइबीका प्रवक्ता श्रेष्ठले बताए । नेपालमा चिम्पाञ्जी भेटिएको यो पहिलोपटक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७