कांग्रेस सभापतिले खुलाए निर्मला हत्याको नयाँ रहस्य, भने, ‘निर्मलाको हत्या उखुबारीमा भएकै होइन’


१६ पुष २०७५, सोमबार
Sher Bahadur Deuba

काठमाडौं, १६ पुस । प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या उखुबारीमा भएको भन्दै सोही स्थानलाई अनुसन्धानको प्राथमिकतामा राखिरहेका बेला कांग्रेस सभापति शेरबहादुरले निर्मला हत्याको नयाँ रहस्य खुलाएका छन् ।

Sher Bahadur Deuba

उनले निर्मला पन्तको हत्या प्रहरीले दावी गर्दै आएको ठाउँ उखुबारीमा नभएको ठोकुवा गरेका छन् । आइतबार राति वागमती किनारको भ्याली टप रेष्टुरेन्टमा आयोजित पत्रिकाका सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा सभापति देउवाले निर्मलाको हत्या उखुबारीमा नभई अन्यत्र भएको दावी गरेका छन् ।

उनले निर्मलाको हत्याको प्रकृति हेर्दा उखुबारीमा हत्या भएको नभई अन्त हत्या गरेर उखुबारीमा ल्याएर फालिएको दावी गरे । आफूले संसदको हिउँदे अधिवेशन र अन्य समयमा पनि निर्मलाको हत्यारा पत्ता लगाउन सरकारले कुनै कसर बाँकी छाड्न नहुने भन्दै बोलेको जानकारी दिंदै भने, ‘सरकार र प्रहरी हत्या घटना अनुसन्धानमै चुकेको छ ।’

उनले निर्मलाको कपडाहरु धोएर प्रमाण नष्ट गरिएको पनि जिकिर गरे । यो घटनाले नेपालको शीर विदेशीका सामु पनि झुकाएको भन्दै देउवाले बलात्कारी जुनसुकै पार्टीको भए पनि कार्वाही हुनुपर्ने बताए । साथै यो विषय नेपाली कांग्रेसको मुद्दा नभएर सिंगै देशको मुद्दा भएको उनले बताए ।

‘निर्मला पन्तको विषय कांग्रेसको मात्रै होइन । बलात्कारी भनेको कांग्रेस होस्, कि कम्युनिष्ट होस् कि पुलिस होस् कि त्यो अपराधी नै हो,’ देउवाले भने, ‘निर्मला पन्त कांग्रेस पार्टीमा थिइनन्, उनी १२–१३ वर्षकी बच्ची हुन् ।

केपी ओलीले आफू निकटका पत्रकारलाई निर्मला पन्तका बारेमा नलेख्न भनेको आफूले सुनेको देउवाले आरोप समेत लगाएका छन् । उनले अहिले सेल्फ सेन्सर लागू भएको उनले दाबी गरे । उनले भने, ‘ओलीले आफ्नै पार्टीका मान्छेलाई सहँदैनन् । आफ्नै पार्टीकालाई सहँदैनन् भने अरुलाई सहन्छन् ? अहिले सेल्फ सेन्सर लागू भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७