गुण्डा नाइके गणेश लामा र सहदेव कक्षपतिले अपहरण गरी २० करोड फिरौती मागेको आरोप


९ फाल्गुन २०८०, बुधबार
ganesh gyanendra

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ । युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपतिलगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् ।

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाएका छन् । विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ । खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन् ।

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन् । उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘डकैतहरूलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो । त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु ।’

जाहेरीपछि पनि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको तर आफूले नमानेर मुद्दामै जाने पनि उल्लेख गरेका छन् । आफूलाई बन्धक बनाएर वडा कार्यालयमा मिलापत्रको कागज दर्ता गराए पनि यसमा आफ्नो मञ्जुरी नरहेको पनि खड्काले बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जाहेरी ललितपुर परिसरमा पठाइएको बताए । ‘हाम्रोमा जाहेरी आएको थियो, प्रारम्भिक अनुसन्धान गरी हामीले जाहेरी ललिपुर परिसरमा पठाएका छौं,’ राठौरले भने । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अपराध महाशाखाले लामाविरूद्ध अनुसन्धान गरी प्रतिवेदन पठाएको बताए । खनालले लामाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बताए । ‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान थालेका छौं, मिसिल अध्ययन गरिरहेका छौं,’ खनालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७