बिटक्वाइन कारोबार : ई–सेवाको संलग्नताबारे राष्ट्र बैंकले थाल्यो अनुसन्धान


३१ आश्विन २०७४, मंगलवार
Bitcoin1
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा ई–सेवाको संलग्नताबारे अनुसन्धान थालेको छ । नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । तर, नयाँ पत्रिकामा लगातार समाचार आएपछि बिटसेवाको साइट बन्द भएको छ । लाखौँ नेपाली रुपैयाँ वा डलर तिरेर सर्वसाधारणले बिटसेवामा संकलन गरेको बिटक्वाइन अब के हुन्छ भन्ने पनि टुंगो छैन । यता, सिस्टम अपग्रेड गर्ने भन्दै ई–सेवाले पनि आफ्नो कारोबार शुक्रबारदेखि नै अवरुद्ध गरेको छ ।
Bitcoin1

संसारको कुनै पनि राज्यले उत्पादन नगरेको, कुनै पनि निकायमा सुरक्षण नभएको र भौतिक आकार र अस्तित्वसमेत नभएको यस्तो ‘भर्चुअल करेन्सी’ खरिदबिक्री गरेर रातारात धनी हुने ध्याउन्नमा लागेको गिरोहका सातजना पक्राउ परिसकेका छन् । अनलाइनमा घन्टाघन्टामा दर तलमाथि हुने यस्तो मुद्रा किन्दा रातारात करोडपति हुन सकिने भन्दै विभिन्न गिरोहले सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए ।

बिटक्वाइनको कारोबारलाई सरकार र राष्ट्र बैंकले अवैध मानेका छन् । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट बिटक्वाइनको कारोबार भइरहेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो । राष्ट्र बैंकले सूचना सार्वजनिक गरेर बिटक्वाइन कारोबार नगर्न तथा नगराउन भनेको छ ।

राष्ट्र बैंकले ई–सेवालगायत केही कम्पनीको बिटक्वाइन कारोबारमा संलग्नताबारे अनुसन्धान थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । ‘ई–सेवा राष्ट्र बैंकबाट अनुमतिप्राप्त कम्पनी हो र उसका गतिविधिको निरीक्षण तथा अनुगमन गर्नु राष्ट्र बैंकको काम हो,’ उनले भने, ‘भुक्तानी सेवाप्रदायक भएका कारण हामीले बिटक्वाइनका विषयमा ई–सेवालगायत कम्पनीबारे अनुसन्धान थालेका हौँ ।’

नेपाल राष्ट्र बैंकले नेपालमा बिटक्वाइनको कारोबार विषयमा थप अध्ययन गरिरहेको सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । पछिल्लो समयमा सञ्चारमाध्यममा आएका समाचार, बिटक्वाइन कारोबारमा विभिन्न व्यक्तिको संलग्नताको विषयबारे राष्ट्र बैंक जानकार रहेको उनको भनाइ छ । ‘अहिलेसम्म राष्ट्र बैंकले कुनै एक्सन लिएको छैन, बिटक्वाइनका विषयमा अझै अध्ययन भइरहेको छ,’ उनले भने, ‘नेपालमा बिटक्वाइन कारोबार गैरकानुनी भएकाले यसमा कोही संलग्न भएको पाइए कारबाही हुनेछ ।’

बिटक्वाइनमा ई–सेवाको संलग्नता

कुनै समय गोल्डक्वेस्ट र पछि युनिटीजस्तै गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख छ । नेपालमा ई–सेवा र लन्डनमा केन्द्रीय कार्यालय रहेको अनलाइन पेमेन्ट गेटवे ‘स्क्रिल’ बाट बिटक्वाइनको कारोबार हुँदै आएको छ । स्क्रिलले बिटक्वाइन स्वीकार गर्दछ भने ई–सेवाले डलर र नेपाली रुपैयाँ स्वीकार गरी बिटक्वाइन खरिदको सुविधा दिने गरेको छ । केही बैंकले पनि बिटक्वाइनका कारोबारीको रकम आदानप्रदान गराइरहेको भेटिएको छ । तर, उनीहरूमाथि राष्ट्र बैंकको नजर परेको छैन ।

अनुसन्धानलाई आउँछु भनेका छन् : ई–सेवा

अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) कम्पनी ई–सेवाले राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको स्वीकार गरेको छ । ई–सेवाकै आग्रहमा राष्ट्र बैंकले अनुसन्धान थालेको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलीले बताए । ‘बाहिर विभिन्न खाले समाचार आएका छन्, त्यसैले हामीले राष्ट्र बैंकलाई हाम्रो सिस्टम स्क्यान गरिदिन आग्रह गरेका छौँ,’ उनले भने, ‘कुनै कैफियत भेटिए कारबाही गर्न र नभेटिए क्लिन चिट दिन हामी आफैँले अनुरोध गरेका हौँ ।’

ई–सेवाविरुद्ध प्रमाण जुटाउँदै प्रहरी

अवैध बिटक्वाइन कारोबारमा सघाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ई–सेवाविरुद्ध अनुसन्धान अघि बढाएको छ । बिटक्वाइन कारोबारमा ई–सेवाको अप्रत्यक्ष रूपमा संलग्नता देखिएको सिआइबीले जनाएको छ । बिटक्वाइन कारोबारमा ई–सेवालगायत सम्बन्धित सबै निकाय छानबिनकै क्रममा रहेको सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । अवैध बिटक्वाइनको भुक्तानी ई–सेवामार्फत हुने गरेको थियो । ई–सेवाविरुद्ध प्रमाण जुटाउने काम भइरहेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७